दिगो भविष्यका लागि राष्ट्रसंघमा साझेदारी मञ्चको बैठक प्रारम्भ

गिरिजा अधिकारी, न्युयोर्क
२०८२ माघ १३, मंगलवार २२:१७
फोटो : युएन वेब टिभी / संयुक्त राष्ट्रसंघ

संयुक्त राष्ट्रसंघको मुख्यालयमा आजदेखि २०२६ को आर्थिक तथा सामाजिक परिषद् (इकोसक) को साझेदारी मञ्च औपचारिक रूपमा सुरु भएको छ । “दिगो भविष्यका लागि परिवर्तनकारी, समतामूलक, नवीन र समन्वयात्मक कार्यहरू” भन्ने मुख्य नाराका साथ आयोजित यस मञ्चले सन् २०३० सम्मका दिगो विकास लक्ष्यहरू प्राप्त गर्न विश्वव्यापी सहकार्यमा जोड दिएको छ ।

परिषद्का अध्यक्ष लोक बहादुर थापा र संयुक्त राष्ट्रसंघकी उप-महासचिव अमिना मोहम्मदले उद्घाटन गरेको यस मञ्चले विशेषगरी स्वच्छ खानेपानी, स्वच्छ ऊर्जा, उद्योग र पूर्वाधार, दिगो सहर तथा साझेदारीसँग सम्बन्धित लक्ष्यहरू (लक्ष्य ६, ७, ९, ११ र १७) लाई मुख्य प्राथमिकतामा राखेको छ ।

यस वर्षको मञ्चले महासभाको प्रस्ताव ७५/२९० ए बमोजिम नयाँ विचार र प्राथमिकताहरू आदानप्रदान गर्दै सरकार तथा निजी क्षेत्र जस्ता सरोकारवालाहरूबीचको नवीन साझेदारीलाई प्रवर्द्धन गर्ने लक्ष्य लिएको छ । अध्यक्ष थापाले “अझ राम्रो परिणाम दिने” आफ्नो मूल मन्त्रलाई जोड दिँदै साझेदारीलाई केवल कागजमा सीमित नगरी ठोस नतिजामा बदल्नुपर्ने बताए  । उनले ८० करोड मानिस अझै पनि चरम गरिबीमा रहेको र प्राकृतिक प्रकोप एवं द्वन्द्वले विकासोन्मुख राष्ट्रहरूलाई थप जोखिममा पारेको सन्दर्भमा यो मञ्चले समाधानका नयाँ बाटाहरू पहिल्याउने विश्वास व्यक्त गरे ।

मञ्चको कार्यतालिका अनुसार आज विभिन्न ‘एसडिजी एक्सन सेगमेन्ट’ र प्यानल छलफलहरू मार्फत प्रभावकारी लगानी र साझेदारीका मोडेलहरूमाथि बहस हुनेछ । मञ्चबाट प्राप्त सुझाव र मुख्य सन्देशहरूलाई एक एकीकृत सारांशको रूपमा जुलाई २०२६ मा हुने उच्च-स्तरीय राजनीतिक मञ्च र डिसेम्बरमा हुने संयुक्त राष्ट्रसंघीय जल सम्मेलनमा प्रस्तुत गरिनेछ ।  तयार पारिएको प्रतिवेदनले आगामी दिनमा विश्वव्यापी विकासका नीतिहरू तय गर्न र २०३० एजेन्डालाई सफल बनाउन महत्त्वपूर्ण मार्गचित्र प्रदान गर्ने अपेक्षा गरिएको छ ।