परराष्ट्रमन्त्री खनाल र जापानका विदेशमन्त्री मोटेगी बीच भेटवार्ता

तु खबर संवाददाता
२०८३ आश्विन ६, मंगलवार १५:३४
तस्बिरः राजन काफ्ले /खसोखास

न्युयोर्क । परराष्ट्रमन्त्री शिशिर खनाल र जापानका विदेशमन्त्री मोटेगी तोसिमित्सुबीच संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका क्रममा न्युयोर्कमा द्विपक्षीय भेटवार्ता भएको छ।

भेटवार्तामा नेपालमा हालै आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति जापानका विदेशमन्त्री मोटेगीले गहिरो दुःख व्यक्त गर्दै पीडितप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवार र प्रभावितप्रति समवेदना व्यक्त गरेको नेपालको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

उनले विपद्बाट प्रभावितको उद्धार तथा सहयोगका लागि नेपाल सरकारले गरिरहेको निरन्तर प्रयासको प्रशंसा गर्दै जापान नेपालसँगै रहेको बताए। जापानले आपत्कालीन अवस्थादेखि मध्यम तथा दीर्घकालीन चरणसम्म नेपाललाई सहयोग जारी राख्ने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन् ।

भेटवार्तामा परराष्ट्रमन्त्री खनालले बाढीबाट भएको क्षतिप्रति जापान सरकार र जापानी जनताले व्यक्त गरेको समवेदना तथा ऐक्यबद्धताका लागि धन्यवाद दिएका छन् । साथै, विपद्मा हराइरहेका विदेशी नागरिक, जापानी नागरिकसमेतको खोज तथा उद्धारका लागि नेपाल सरकारले कुनै कसर बाँकी नराखी प्रयास गरिरहेको जानकारी गराएका छन् ।

भेटमा यस वर्ष नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वार्षिकोत्सव मनाइरहेको विषयमा पनि छलफल भएको थियो।

जापानका विदेशमन्त्री मोटेगीले लोकतन्त्रको सुदृढीकरण तथा राष्ट्र निर्माणका क्रममा जापानले नेपाललाई निरन्तर सहयोग गर्दै आएको उल्लेख गर्दै आगामी नोभेम्बरमा नेपालमा आयोजना हुने ‘नेपाल–जापान फेस्टिभल’ ले दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप गहिरो बनाउन योगदान पुर्‍याउने विश्वास व्यक्त गरे ।

जापानको दीर्घकालीन सहयोगप्रति धन्यवाद व्यक्त गर्दै परराष्ट्रमन्त्री खनालले कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वर्षको अवसरमा नेपाल–जापान सम्बन्धलाई आगामी दिनमा थप विस्तार र सुदृढ गर्न नेपाल इच्छुक रहेको बताएका छन् ।