अमेरिका इतिहासकै सबैभन्दा बलियोः राष्ट्रपति ट्रम्प

गिरिजा अधिकारी
२०८३ आश्विन ७, बुधबार ०१:१०
संयुक्त राष्ट्रसंघको ८१ औँ महासभालाई सम्बोधन गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तस्बिरः राजन काफ्ले / खसोखास

संयुक्त राष्ट्रसंघ ,न्युयोर्क ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका इतिहासकै सबैभन्दा बलियो, समृद्ध र सुरक्षित अवस्थामा रहेको बताएका छन् । दुई वर्षअघि आफ्नो देश मृत अवस्थामा रहेको उल्लेख गर्दै ट्रम्पले अहिले अमेरिका संसारकै सबैभन्दा आकर्षक देश बनेको बताएका छन् ।

मंगलबार न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा आयोजित महासभामा बोल्दै राष्ट्रपति ट्रम्पले अमेरिका फेरि फर्किएको दावी गरे । अमेरिकी अर्थतन्त्र विश्वकै आकर्षणको केन्द्र बनेको बताउँदै उनले अमेरिकी सेना पृथ्वीमै सबैभन्दा शक्तिशाली छ र प्रविधिको क्षेत्रमा अमेरिका अग्रस्थानमा रहेको समेत बताए ।

नीजि क्षेत्रमा १० लाखभन्दा बढी रोजगारी सिर्जना भएको बताउँदै ट्रम्पले अहिले अमेरिकामा इतिहासकै सबैभन्दा धेरै मानिस रोजगारीमा रहेको समेत बताए ।

इरानलाई विश्वकै प्रमुख आतंकवादको प्रायोजक भएको ट्रम्पले आरोप समेत लगाएका छन् । उनले अमेरिकाले इरानका विरुद्ध गरेको कारवाहीको बचाउ गर्दै आफ्नो तर्फबाट गरिएको आर्थिक सहकार्यको प्रस्तावलाई इरानले अस्वीकार गरेको ट्रम्पले बताए । ट्रम्पले इरानले ठूलो मात्रामा क्षेप्यास्त्र र ड्रोन भण्डार निर्माण गरिरहेको बताउँदै युरोपसम्म प्रहार गर्न सक्ने क्षेप्यास्त्र इरानले बनाएको ट्रम्पको दावी छ ।

इरानको अर्थतन्त्र ध्वस्त भएको बताउँदै राष्ट्रपति ट्रम्पले त्यहाँको मुद्रास्फीति ३०० प्रतिशतभन्दा माथि पुगेको बताए ।

इरानलाई आर्थिक रुपमा अलग गर्न सबै देशसित आह्वान गरेका ट्रम्पले इरानले व्यापारिक जाहाजमाथिको आक्रमण रोक्ने, आणविक महत्वाकांक्षा त्याग्ने । आतंकवादलाई समर्थन गर्ने कार्य बन्द नगरेसम्म उसलाई आर्थिक रुपमा अलग गर्न ट्रम्पको आह्वान थियो ।

अमेरिकासित प्रयाप्त मात्रमा हतियार र गोलबारुद भएको ट्रम्पले बताए । थप १८ ठूला गोलाबारुद कारखाना निर्माणाधीन रहेको समेत ट्रम्पको भनाइ थियो । अमेरिकासित हतियार सकिएको भनाइको खण्डन गर्दै ट्रम्पले यस्तो बताएका हुन् ।