विश्वव्यापी चुनौतीहरूको सामना गर्न जनमुखी नीति आवश्यक : इकोकस अध्यक्ष थापा
संयुक्त राष्ट्रसंघको आर्थिक तथा सामाजिक परिषद् इकोसकका अध्यक्ष लोक बहादुर थापाले सामाजिक विकास आयोगको ६४औँ सत्रलाई सम्बोधन गर्दै विश्वव्यापी चुनौतीहरूको सामना गर्न जनमुखी नीतिहरूको आवश्यकतामा जोड दिएका छन् ।
संयुक्त राष्ट्रसंघ मुख्यालय न्युयोर्कमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष थापाले हाल विश्व जलवायु परिवर्तन, भू-राजनीतिक तनाव, बढ्दो असमानता र डिजिटल रूपान्तरण जस्ता गम्भीर चुनौतीहरूबाट गुज्रिरहेको उल्लेख गरे । उनले यी परिवर्तनहरूले श्रम बजार र सामाजिक संरचनामा पारेको प्रभावलाई सम्बोधन गर्न र मानिसहरूलाई विकासको केन्द्रमा राख्न सरकारहरूलाई आग्रह समेत गरेका छन् ।
अध्यक्ष थापाले दोस्रो विश्व सामाजिक विकास शिखर सम्मेलन र दोहा राजनीतिक घोषणापत्रको महत्त्वमाथि प्रकाश पार्दै यस आयोगको मुख्य कार्य ती घोषणाहरूलाई व्यवहारिक नीतिमा रूपान्तरण गर्नु रहेको बताए । उनका अनुसार सामाजिक विकासका प्रयासहरूले विशेष गरी पछाडि परेका वर्ग र संरचनात्मक जोखिममा रहेका देशहरूलाई प्राथमिकता दिनुपर्दछ । यस वर्षको मुख्य विषय ‘समन्वयात्मक, समतामूलक र समावेशी नीतिहरू मार्फत सामाजिक विकास र सामाजिक न्यायको प्रवर्द्धन’ रहेको र यसले नीतिगत खण्डिकरणलाई हटाउन मद्दत गर्ने विश्वास थापाले व्यक्त गरे ।
उनले हेरचाह र सहायता प्रणालीमा गरिने लगानीले महिलाको आर्थिक सहभागिता बढाउने र समावेशी वृद्धिलाई सहयोग पुर्याउने बताए । यस सत्रका निष्कर्षहरूले जुलाईमा हुने उच्च-स्तरीय राजनीतिक मञ्च र ईकोसोक युवा मञ्चलाई समेत मार्गदर्शन गर्नेछ । अध्यक्ष थापाले शिखर सम्मेलनका प्रतिवद्धताहरूलाई वास्तविक समाधानमा बदल्न र जनता तथा संस्थाहरू बीचको विश्वास पुनस् स्थापित गर्न ठोस नीतिगत कदम चाल्नुपर्नेमा जोड दिए ।
