बहुपक्षीयता र समावेशी विकासमा इकोसक अध्यक्ष थापाको जोड
इकोसका अध्यक्ष लोकबहादुर थापाले बहुपक्षीयताको सुदृढीकरण र समावेशी विकासमा जोड दिएका छन् । कोनराड एडेनाउरको १५० औं जन्मजयन्तीको अवसरमा कोनराड एडेनाउर फाउन्डेसनद्वारा न्युयोर्कमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै नेपालका लागि संयुक्त राष्ट्रसंघका स्थायी प्रतिनिधि समेत रहेका इकोसक अध्यक्ष थापाले वर्तमान विश्व भू-राजनीतिक तनाव र आर्थिक दबाबबाट गुज्रिरहेको बताए ।
उनले इतिहासले सिकाएको पाठ स्मरण गराउँदै संकटको समयमा बहुपक्षीयताले नै व्यावहारिक सहयोगमार्फत मानिसको जीवनमा आशा जगाउन सक्ने धारणा व्यक्त गरेका छन् ।
आफ्नो कार्यकालको मुख्य सिद्धान्त ‘उत्कृष्ट सेवा प्रवाह’लाई केन्द्रमा राख्दै अध्यक्ष थापाले इकोसकले आगामी दिनमा चारवटा मुख्य प्राथमिकतामा कार्य गर्ने समेत गरेका छन्। जसमा कृषि-खाद्य प्रणालीको रूपान्तरण, डिजिटल समावेशीकरण, जलवायु कार्य र अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार रहेका छन् । उनले विशेषगरी युवा उद्यमशीलता र डिजिटल पहुँचलाई विश्वव्यापी बनाउन मे महिनामा विशेष बैठक आह्वान गरिने जानकारी समेत दिएका छन् ।
सम्बोधनका क्रममा अध्यक्ष थापाले कम विकसित र भूपरिवेष्ठित राष्ट्रहरूको संरचनात्मक जोखिमलाई सम्बोधन गर्न न्यायपूर्ण समाधानको आवश्यकता औल्याए । कोनराड एडेनाउरको सहकार्य र साझेदारीको विरासतलाई पछ्याउँदै उनले दिगो विकासलाई केवल लक्ष्य मात्र नभई यथार्थमा बदल्न सबै सरोकारवालाहरूलाई एकजुट हुन आह्वान गरे। विकासलाई परोपकारको रूपमा नभई न्यायको रूपमा अगाडि बढाए मात्र विश्व बलियो हुने उनको निष्कर्ष थियो ।
आधुनिक जर्मनीका संस्थापक तथा संघीय गणतन्त्र जर्मनीका पहिलो चान्सलर कोनराड एडेनाउर १८७६–१९६७ को १५० औँ जन्मजयन्तीको अवसरमा संयुक्त राष्ट्र संघले उनको योगदानलाई विशेष महत्त्वका साथ स्मरण गर्ने गरेको छ। जर्मनीको कोलोन शहरका लर्ड मेयरदेखि सन् १९४९ देखि १९६३ सम्म चान्सलर र परराष्ट्रमन्त्री जस्ता उच्च भूमिकामा रहेर दोस्रो विश्वयुद्धपछिको पुनर्निर्माण र युरोपेली एकीकरणका प्रमुख योजनाकार मानिने एडेनाउरको सम्मानमा सन् १९५५ मा स्थापित ुकोनराड एडेनाउर फाउन्डेसनु स्थापना गरिएको थियो ।
