नेपालमा बाढी पछि अमेरिकाले तत्काल मावनीय सहयोग गर्यो : प्रवक्ता पिगट
न्युयोर्क — रसुवा भोटेकोशीमा आएको विनासकारी बाढीमा तत्काल मानवीय सहयोगका लागि अमेरिकी सरकारले ५० लाख डलरभन्दा बढी सहयोग उपलब्ध गराएको जनाएको छ ।
अमेरिकी विदेश मन्त्रालयको तर्फबाट न्युयोर्कमा रहेको फरेन प्रेस सेन्टरमा केही सिमित पत्रकारहरुसँग कुराकानी गर्दै विदेश मन्त्रालयका प्रवक्ता टमी पिगटले आवश्यक परेमा थप सहायता बढ्ने समेत जानकारी दिएका हुन् ।
प्रवक्ता पिगटले बाढीबाट प्रभावित परिवारप्रति अमेरिकाले गहिरो सहानुभूति र ऐक्यवद्धता व्यक्त गरेको समेत जानकारी दिए । अहिले पनि ७० जना अमेरिकी नागरिक सम्पर्कविहीन रहेको बताउँदै प्रवक्ता पिगटले ट्रम्प प्रशासनका लागि अमेरिकी नागरिकको सुरक्षा र संरक्षणभन्दा उच्च प्राथमिकता अरू कुनै नभएको समेत बताए ।
सो सन्दर्भमा उनले अगाडिबाट माटो हटाउने ठूला मेसिन तथा पहुँच कठिन क्षेत्रमा पुग्न विशेष यातायातका साधन समेत अमेरिकाले उपलब्ध गराएको बताए । नेपाली पत्रकारले नेपालले उठाउँदै आएका जलवायु परिवर्तन र न्यायका सन्दर्भमा अमेरिकी सरकारले समर्थन गर्छ कि गर्दैन भन्ने बारे पिगटले केही बताएनन् ।
बाढीबाट भएको क्षतिपछि अमेरिकाले नेपालको निम्ति सक्रिय सहयोग उपलब्ध गराएको उनको भनाइ छ । नेपाल सरकारले सुरुमा खोज तथा उद्धार अभियानका लागि आफ्नो क्षमता पर्याप्त रहेको अमेरिकालाई जानकारी गराएको थियो। तर, त्यो स्तरमा उद्धार कार्य अघि बढ्न नसकेपछि सरकारको आलोचना समेत भएको थियो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भनेजस्तै नेपाललाई आवश्यक पर्ने जुनसुकै सहयोग उपलब्ध गराउन विदेश मन्त्रालय इच्छुक, सक्षम र तयार रहेको पिगटले बताए ।
काठमाडौंस्थित अमेरिकी राजदुतावासले नेपाल सरकारसँग समन्वय गर्न चौबीसै घण्टा काम गरिरहेको स्पष्ट पार्दै नेपाल सरकारले आवश्यकता पहिचान गर्दै जाँदा अमेरिकाले सहयोग जारी राख्ने पिगटले बताए। नेपाल र अमेरिकी सरकारबीच बलियो सञ्चार र समन्वय भइरहेको छ, उनले भने । यसले अमेरिकालाई आवश्यक सहयोग पहिचान गर्न मद्धत गरिरहेको पिगटले बताए ।
अगस्ट २६ मा आएको सो बाढीका कारण हजारौं नेपाली तथा सयौँ विदेशी नागरिकको ज्यान गएको थियो ।
