न्युयोर्कमा नेपाली मूलका सोमनाथ घिमिरे चुनावी मैदानमा

तु खबर संवाददाता
२०८३ असार ६, शनिबार १९:१०
फोटो क्रेडिटः सोमनाथ घिमिरेको फेसबुक प्रोफाइल

न्यूयोर्कको क्वीन्सस्थित डिस्ट्रिक्ट ३० बाट नेपाली मूलका सोमनाथ घिमिरेले डेमोक्रेटिक प्राइमरीमा उम्मेदवारी दिएका छन्। यो निर्वाचन जुन २३, २०२६ मा हुँदैछ।उडसाइडमा बस्दै आएका र सामाजिक अभियन्ताको रुपमा परिचित समेत रहेका घिमिरे यस निर्वाचनमा उम्मेदवार बनेका छन् ।

उनले आफ्नो निर्वाचन क्षेत्रका निम्न तथा मध्यमवर्गीय श्रमजीवी परिवारहरूको उत्थानका लागि अल्बानी (राज्य राजधानी) बाट आवश्यक स्रोत-साधन ल्याउने प्रतिबद्धता समेत जनाएका छन्।

आधा दर्जनभन्दा बढी भाषा बोल्न सक्ने घिमिरेले विविधतायुक्त मतदातामाझ भाषिक पहुँच पुर्‍याउनु आफ्नो प्राथमिकता भएको बताएका छन्। सन् २०३० को जनगणनामा नेपाली समुदायको सही गणना होस् भन्नका लागि नेपाली भाषामै विशेष सामग्रीहरू प्रकाशन गर्ने उनको सोच छ।

उनले खराब घरबेटीहरूविरुद्ध कडा कदम चाल्ने र भाडावालको अधिकारका लागि लड्ने बताएका छन्। त्यस्तै, दक्षिण एसियाली विद्यार्थीहरू पढ्ने विद्यालयमा समान बजेट पुर्‍याउने र युवाहरूको मानसिक स्वास्थ्य सङ्कट समाधानका लागि प्रत्येक सरकारी उच्च विद्यालयमा विशेषज्ञमार्फत छुट्टै कक्षा सञ्चालन गर्ने उनको योजना छ।

कोरोना महामारीमा अग्रपङ्क्तिमा रहेर काम गरेका घिमिरेले एल्महर्स्ट जस्ता सरकारी अस्पतालको भिडभाड कम गर्न ‘लाइन व्यवस्थापन प्रणाली’ लागू गर्ने प्रस्ताव गरेका छन्।

सार्वजनिक सुरक्षाका लागि उनले प्रहरी, समुदायका नेता र निर्वाचित प्रतिनिधि सम्मिलित सार्वजनिक सुरक्षाका लागि त्रिकोण अवधारणा अघि सारेका छन्।

प्रतिस्पर्धीहरू शम्सुल हक र प्याट्रिक मार्टिनेजभन्दा आफूले पहिले नै उम्मेदवारी घोषणा गरेको र महामारीमा समेत समुदायको सेवा गरेकाले आफ्नो दाबी बलियो रहेको घिमिरे बताउँछन्।