दिगो विकासका लागि साझेदारी अनिवार्य: संयुक्त राष्ट्रसंघ उप-महासचिव मोहम्मद
संयुक्त राष्ट्र संघकी उप-महासचिव अमिना जे. मोहम्मदले सन् २०३० सम्मका दिगो विकास लक्ष्यहरू प्राप्तिमा सरकार, नागरिक समाज र निजी क्षेत्रबीचको बलियो साझेदारी अपरिहार्य रहेको बताएकी छिन् । २०२६ ईकोसोक साझेदारी मञ्चको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले विश्वव्यापी चुनौतीहरू सामना गर्न स्रोत र राजनीतिक इच्छाशक्तिको एकता हुनुपर्नेमा जोड दिइन् ।
उप-महासचिवले ८० वर्षको इतिहास बोकेको इकोसोकले मानव अधिकार र विकासका क्षेत्रमा महत्वपूर्ण भूमिका खेलेको स्मरण गरिन् । हाल ६,५०० भन्दा बढी गैरसरकारी संस्थाहरू यस परिषदमा आबद्ध रहेको उल्लेख गर्दै उनले विविधतापूर्ण आवाजहरूले नै विश्वव्यापी निर्णय प्रक्रियालाई न्यायोचित बनाउने धारणा राखिन् ।
उनले हालको प्रगतिप्रति चिन्ता समेत व्यक्त गर्दै २.२ अर्ब मानिस अझै सुरक्षित खानेपानीको पहुँच बाहिर रहेको, चरम गरिबीको अवस्था सन् २०१५ कै स्तरमा रहेको र अफ्रिकामा विद्युतको ठूलो अभाव रहेको बताइन् । उनले विकासोन्मुख देशहरूले वार्षिक ४० खर्ब डलरभन्दा बढीको वित्तीय खाडल सामना गरिरहेको समेत स्पष्ट पारिन् ।
चुनौतीका बाबजुद केही उपलब्धिहरू उत्साहजनक रहेको र सन् २०१५ यता ९२ प्रतिशत जनसंख्यामा विद्युत पुगेको, एड्सबाट हुने मृत्यु आधा घटेको र १० करोडभन्दा बढी बालबालिका शिक्षाको पहुँचमा आएको उप महासचिव मोहम्मदले जानकारी दिइन् । उनले सही समन्वय भएमा नतिजा सम्भव रहेको पनि बताइन् ।
उप-महासचिव मोहम्मदले अबका ५ वर्ष निर्णायक हुने भन्दै केवल भाषणमा मात्र नभई ठोस कार्य र जवाफदेही साझेदारीमा केन्द्रित हुन सदस्य राष्ट्रहरूलाई आह्वान गरेकी छिन् ।
