हेटौंडाबाट पाँच वर्ष स्थायी सरकार चलाउने रवि लामिछानेको घोषणा
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले फागुन २१ गते हुने निर्वाचनपछि आफ्नो पार्टीले पाँच वर्षसम्म स्थायी सरकार सञ्चालन गर्ने बताएका छन् । हेटौंडामा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै लामिछानेले देशलाई कानूनी राज्यका रूपमा स्थापित गर्ने बताए ।
लामिछानेले शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गर्न आग्रह गर्दै मतपरिणामलाई स्वीकार गर्न सबैसँग आग्रह गरे। निर्वाचन तोकिएको समयमै गर्न भन्दै उनले विभिन्न बाहना बनाएर निर्वाचन नगर्ने प्रयास भइरहेको दावी गरे ।
रास्वपाको सरकार बनेमा विभिन्न काण्डहरुको छानबिन गर्ने घोषणा पनि उनको थियो । तर, आफू सहकारी ठगी काण्डमा मुछिएको विषयमा उनले केही बताएनन् ।
लामिछानेको सम्बोधनका अघिल्लो दिनमात्रै रास्वपमा मकवानपुरका संयोजक भरत पराजुलीसमेतका व्यक्तिहरु नेपाली काँग्रेसमा प्रवेश गरेका थिए । यस अघि रास्वपाले बालेन्द्र शाहलाई प्रधानमन्त्री बनाउने गरी घोषणा गरेको थियो । उनी काठमाडौं महानगरपालिकाको प्रमुखबाट राजीनामा दिएर प्रतिनिधिसभामा उम्मेदवार बनेका छन् ।
