केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको बैठक सम्पन्न

तु खबर संवाददाता
२०८२ फाल्गुन १२, मंगलवार ०९:१६
तस्बिर : नेपाल प्रहरी ।

अर्थमन्त्री रामेश्वरप्रसाद खनालले राजस्व चुहावट नियन्त्रण प्रभावकारी बनाउन सबै निकायले एकीकृत रूपमा कार्य गर्नुपर्ने बताएका छन्।

नेपाल प्रहरी प्रधान कार्यालय, काठमाडौँमा बसेको केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको बैठकमा अर्थमन्त्री खनालले सबै सरोकारवालाबीच समन्वय र सहकार्य भए मात्र राजस्व चुहावट नियन्त्रणमा आउन सक्ने बताएका हुन्। राजस्व चुहावट नियन्त्रणमा प्रणालीगत सुधारका लागि गरिएका प्रयासहरूलाई समेत अझ प्रभावकारी रूपमा कार्यान्वयन गर्दै लैजानुपर्नेमा उनको जोड थियो।

कार्यक्रममा अर्थ मन्त्रालयका सहसचिव उत्तरकुमार खत्रीले राजस्व परिचालन र चुहावट सम्बन्धी विविध विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए। बैठकमा सातवटै प्रदेश प्रहरी कार्यालयका प्रमुख एवं जिल्ला प्रहरी कार्यालयहरू मोरङ, बारा, चितवन, बाँके र कैलालीका प्रमुखहरूसँग राजस्व चुहावट तथा तस्करी नियन्त्रणका सम्बन्धमा गरिएका प्रयासहरूका बारेमा भर्चुअल माध्यमद्वारा छलफल तथा अन्तरक्रिया समेत गरिएको थियो।

बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव, गृह सचिव, अर्थ सचिव, सशस्त्र प्रहरी महानिरीक्षक, भन्सार विभागका महानिर्देशक, आन्तरिक राजस्व विभागका महानिर्देशक, राजस्व अनुसन्धान विभागका महानिर्देशक, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक, प्रहरी नायब महानिरीक्षकहरू लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले राजस्व चुहावट नियन्त्रण केवल आर्थिक विषय मात्र नभई राष्ट्रिय सुरक्षा, सुशासन र समृद्धिसँग प्रत्यक्ष जोडिएको उल्लेख गर्दै राजस्व चुहावट नियन्त्रणमा नेपाल प्रहरीले आफ्नो संस्थागत क्षमता अनुरूप सक्रिय भूमिका निर्वाह गर्दै आइरहेको ब्रिफिङ गरेका थिए। प्रविधि, जनशक्ति, कानुनी सुदृढीकरण र अन्तर–निकाय समन्वयमा रणनीतिक सहयोग प्राप्त भएमा राजस्व चुहावट नियन्त्रणमा दीर्घकालीन र प्रभावकारी परिणाम हासिल गर्न सकिने उनले बताएको नेपाल प्रहरीले जनाएको छ।