निर्वाचन आयोगद्वारा पाँच उम्मेदवारलाई स्पष्टीकरण माग
काठमाडौं । निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यका पाँच जना उम्मेदवारलाई स्पष्टीकरण सोधेको छ। आयोगका अनुसार विभिन्न उजुरीका आधारमा सामाजिक सञ्जालमा भ्रामक, घृणात्मक तथा आचारसंहिताविपरीत अभिव्यक्ति र गतिविधि गरेको आरोपमा उनीहरूलाई पत्र काटिएको हो।
स्पष्टीकरण सोधिने उम्मेदवारहरूमा झापा निर्वाचन क्षेत्र नम्बर ५ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बालेन्द्र शाह (बालेन), सुनसरी १ का श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ, रूपन्देही २ का स्वतन्त्र उम्मेदवार कमल भुसाल (निकोलस), भक्तपुर २ का नेकपा एमाले उम्मेदवार महेश बस्नेत र सोही क्षेत्रकी उम्मेदवार जानुका पाठक (शोभा पाठक) रहेका छन्।
आयोगका अनुसार बालेन शाहले झापा ५ कै अर्का उम्मेदवार केपी शर्मा ओलीले सामाजिक सञ्जालमा राखेको पोस्टमा टिप्पणी गर्दै ‘हत्यारा’ जस्ता शब्द प्रयोग गरेको उजुरी परेको छ। उक्त अभिव्यक्ति प्रमाणबिनै गम्भीर आरोप लगाइएको, लोकतान्त्रिक बहसको मर्मविपरीत रहेको दाबी उजुरीमा गरिएको छ।
हर्क साम्पाङमाथि चुनावी प्रचारमा बालबालिकाको प्रयोग गरेको, टिसर्ट लगाउन लगाएको लगायतका विषयमा आचारसंहिता उल्लंघन गरेको आरोप छ। त्यस्तै कमल भुसाल (निकोलस) ले जेनजी आन्दोलनको ‘आइकोनिक जुत्ता’ लाई चुनाव चिन्हका रूपमा प्रचार गरेको तथा दुईवटा चुनाव चिन्ह प्रयोग गरी प्रचार गरेको भन्दै स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ।
एमाले उम्मेदवार महेश बस्नेतमाथि मधेसी समुदायलाई अपमानित हुने गरी घृणात्मक अभिव्यक्ति दिएको र बालेन शाहको भाषणका शब्दलाई अनर्थ लगाएर टिप्पणी गरेको उजुरी परेको छ। साथै भक्तपुर २ की उम्मेदवार जानुका पाठकमाथि उम्मेदवारविरुद्ध ‘हत्यारा’, ‘बलात्कारी’ जस्ता शब्द प्रयोग गरी घृणाजन्य टिप्पणी गरेको आरोप छ।
निर्वाचन आयोगको आचारसंहिता अनुगमन शाखाका अनुसार उनीहरूलाई तोकिएको समयभित्र लिखित स्पष्टीकरण पेश गर्न निर्देशन दिइएको छ। आयोगले जवाफ चित्तबुझ्दो नभए निर्वाचन ऐनअनुसार कारबाही हुने चेतावनी दिएको छ।
यसैबीच आयोगले अनुमति नलिई आचारसंहिता लागू भएपछि अधिवेशन गरेको आरोपमा स्वास्थ्य स्वयंसेवक सङ्घलाई तथा शिक्षक सरुवासम्बन्धी विषयमा समेत छुट्टै स्पष्टीकरण सोधेको जनाएको छ।
