माधव नेपालको उम्मेदवारी खारेजी माग्दै निर्वाचन आयोगमा उजुरी

तु खबर संवाददाता
२०८२ माघ ७, बुधबार १९:३३
file photo

काठमाडौं । पतञ्जलि जग्गा हिनामिना भ्रष्टाचार प्रकरणमा मुछिएका पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधव नेपालको उम्मेदवारी खारेजीको माग गर्दै निर्वाचन आयोगमा उजुरी परेको छ।

आगामी प्रतिनिधिसभा निर्वाचनका लागि रौतहट निर्वाचन क्षेत्र नम्बर-१ बाट उम्मेदवारी दर्ता गराएका नेपालविरुद्ध सोही क्षेत्रका स्वतन्त्र उम्मेदवार रामनरेश राय यादवले बुधबार रौतहट मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दर्ता गराएका हुन्।

उजुरीमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १७ तथा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३३ अनुसार भ्रष्टाचार मुद्दा दर्ता भई विचाराधीन रहेका व्यक्ति निलम्बनमा रहने व्यवस्था रहेको उल्लेख गरिएको छ। साथै प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ र अख्तियार ऐनको उक्त दफाअनुसार माधव नेपाल उम्मेदवार हुन अयोग्य रहेको दाबी गरिएको छ।

उजुरीमा भनिएको छ, पतञ्जलि जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरिसकेको तथा उक्त मुद्दा विशेष अदालतमा विचाराधीन अवस्थामा रहेको हुँदा निज माधव नेपाल कानुनतः उम्मेदवार हुन अयोग्य हुनुहुन्छ। त्यसैले उहाँको उम्मेदवारी खारेज गरी पाऊँ।’

तर संविधानमा कुनै पनि मुद्दामा अन्तिम रूपमा दोषी प्रमाणित नभएसम्म उम्मेदवारी खारेज गर्न नपाइने व्यवस्था रहेकाले उक्त उजुरी दरपीठ गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

पूर्वप्रधानमन्त्री नेपालविरुद्ध दर्ता भएको पतञ्जलि जग्गा हिनामिना सम्बन्धी भ्रष्टाचार मुद्दा हाल विशेष अदालतमा विचाराधीन अवस्थामा छ।