खेलकुदमन्त्री बब्लु गुप्ताको राजीनामा, रास्वपाबाट चुनाव लड्ने तयारी
काठमाडौं । युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले मन्त्री पदबाट राजीनामा दिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्ने तयारीमा रहेका गुप्ताले आज बिहान प्रधानमन्त्रीलाई राजीनामाबारे जानकारी गराएका हुन् ।
गुप्ताले आइतबार राति नै प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर राजीनामा दिने निर्णयबारे अवगत गराएको बताए । ‘हिजो राति प्रधानमन्त्रीज्यूलाई भेटेर राजीनामाबारे जानकारी गराएँ । आज बिदा भएकाले राजीनामा पत्र भोलिमात्रै दर्ता हुनेछ,’ उनले भने ।उनका अनुसार उनी सिराहा निर्वाचन क्षेत्र नम्बर १ बाट चुनाव लड्ने तयारीमा छन् । रास्वपाबाट चुनाव लड्ने तयारी गरिरहेको भए पनि हालसम्म औपचारिक रूपमा टिकट भने नपाइसकेको उनले बताए । यद्यपि सिराहाबाट टिकट पाउने सम्भावना पक्का हुँदै गएसँगै राजीनामा दिन लागेको बताइएको छ ।
रास्वपाको गतिविधिमा संलग्न रहेको भन्दै गुप्ताले यसअघि नै मन्त्री पदबाट राजीनामा दिनुपर्ने आवाज उठ्दै आएको थियो । आइतबार प्रधानमन्त्रीसँगको भेटमा पनि उनले आफू राजीनामा दिन तयार रहेको स्पष्ट पारेका थिए ।जेन-जी पुस्ताको प्रतिनिधिका रूपमा सुशीला कार्की नेतृत्वको सरकारमा सहभागी भएका गुप्ताले अब पूर्ण रूपमा चुनावी अभियानमा होमिने बताएका छन् ।
