नेपाली कांग्रेसको आधिकारिकताविरुद्ध देउवा समूह सर्वोच्च अदालतमा
काठमाडौं । नेपाली कांग्रेसको गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध निवर्तमान सभापति शेरबहादुर देउवा समूह सर्वोच्च अदालत पुगेको छ।
शनिबार बसेको देउवा समूहको केन्द्रीय कार्यसमिति बैठकले निर्वाचन आयोगको निर्णयविरुद्ध राजनीतिक र कानुनी रूपमा प्रतिवाद गर्ने निर्णय गरेअनुसार आइतबार रिट निवेदन दर्ताका लागि सर्वोच्च अदालत गएको हो। कार्यवाहक सभापति पूर्णबहादुर खड्काको नेतृत्वमा विमलेन्द्र निधि, प्रकाशमान सिंह, एनपी साउद, मीनबहादुर विश्वकर्मालगायत नेताहरू रिट लिएर सर्वोच्च पुगेका छन्।
उनीहरूले विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई निर्वाचन आयोगले दिएको वैधानिकता खारेज गर्न माग गर्दै रिट दायर गरेका हुन्। अधिवक्ता लक्ष्मी दाहाल रावलका अनुसार रिट निवेदन दर्ता प्रक्रियामा रहेको छ। पूर्वमहान्यायाधिवक्ता खमबहादुर खाती पनि कानुनी प्रक्रियामा सहभागी छन्।
तर नेपाली कांग्रेसका नेता शेखर कोइराला र उनी निकट नेताहरू भने सर्वोच्च अदालत गएका छैनन्। कोइरालानिकट नेताहरूले निर्वाचन आयोगले चारतारे झन्डा र रूख चिन्हसहित गगन थापा नेतृत्वको कार्यसमितिलाई मान्यता दिइसकेको भन्दै अदालत जाने पक्षमा नरहेको बताएका छन्। ‘जहाँ चारतारे झन्डा र रूख छ, त्यही कांग्रेस हो, हामी त्यही रहने हो,’ कोइरालानिकट एक नेताले बताए।
गत पुस २७ देखि ३० सम्म काठमाडौंको भृकुटीमण्डपमा सम्पन्न नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमिति निर्वाचित भएको थियो। त्यसलाई निर्वाचन आयोगले आधिकारिक पार्टीको मान्यता दिएपछि देउवा समूह कानुनी लडाइँमा उत्रिएको हो।
