निर्वाचन आयोगको निर्णयविरुद्ध देउवा पक्ष सर्वोच्च अदालत जाने
काठमाडौं । निर्वाचन आयोगले नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरलाई आधिकारिकता दिएको निर्णयविरुद्ध पार्टीका नेता शेरबहादुर देउवा पक्ष सर्वोच्च अदालत जाने भएको छ।
शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको देउवा पक्षको बैठकले निर्वाचन आयोगको निर्णय सही नभएको ठहर गर्दै संवैधानिक, राजनीतिक तथा कानुनी प्रतिवाद गर्ने निर्णय गरेको हो। बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै देउवा पक्षका प्रवक्ता डा. प्रकाशशरण महतले न्यायका लागि सर्वोच्च अदालत जाने निर्णय भएको जानकारी दिए।
महतका अनुसार निर्वाचन आयोगले उपस्थित सङ्ख्या र विधिसम्मत प्रक्रियालाई बेवास्ता गर्दै दूषित मनसायका साथ एकलौटी निर्णय गरेको आरोप देउवा पक्षको छ। उनले विधिवत् निर्वाचित केन्द्रीय कार्यसमितिलाई अवैधानिक ढङ्गले परिवर्तन गरी नेपाली कांग्रेसलाई गम्भीर क्षति पुर्याउने प्रयास गरिएको बताए।
निर्वाचन आयोगले गगन थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिकता दिने निर्णय गरेपछि त्यसको कडा विरोध गर्ने निर्णय बैठकले गरेको महतले जानकारी दिए। उनले आइतबार नै सर्वोच्च अदालत जाने तयारी भइरहेको समेत बताए।
देउवा पक्षले निर्वाचन आयोगको निर्णयलाई असंवैधानिक र अन्यायपूर्ण ठहर गर्दै अदालतमार्फत् न्याय खोज्ने अडान लिएको छ।
