कांग्रेसको आधिकारिकता विवाद: देउवा पक्ष निर्वाचन आयोगमा

तु खबर संवाददाता
२०८२ माघ २, शुक्रबार १०:४६

काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकता विवाद चुलिँदै जाँदा सभापति शेरबहादुर देउवा पक्षका नेता-कार्यकर्ताहरू शुक्रबार बिहान निर्वाचन आयोग पुगेका छन्। दोस्रो विशेष महाधिवेशनबाट गगन थापा सभापति निर्वाचित भएपछि उत्पन्न परिस्थितिमा देउवा पक्षले आफूहरू नै आधिकारिक नेपाली कांग्रेस भएको दाबी गर्दै आयोगसँग छलफल गर्न पुगेको हो।

कान्तिपथस्थित निर्वाचन आयोग पुगेका देउवा पक्षका नेताहरूमा पूर्णबहादुर खड्का, शेखर कोइराला, रमेश लेखक, विमलेन्द्र निधि, रमेश रिजाल, श्याम घिमिरे, कल्याण गुरुङ, धनराज गुरुङ, मीनेन्द्र रिजाल, महालक्ष्मी उपाध्याय ‘डिना’, सुजाता कोइराला, एनपी साउद, नैनसिंह महर, जीतजंग बस्नेतलगायत रहेका छन्।

कांग्रेस नेता कल्याण गुरुङले देउवा नेतृत्वको कांग्रेस नै वैधानिक र आधिकारिक पार्टी भएको जिकिर गर्दै आयोगमा आफ्ना कुरा राख्न आएको बताए।
‘केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य, जिल्ला सभापति, भ्रातृ तथा शुभेच्छुक संस्थाका प्रतिनिधिहरू आयोगमा उपस्थित भएका छौं,’ उनले भने, ‘देउवा नेतृत्वकै नेपाली कांग्रेस आधिकारिक हो भन्ने विषयमा आयोगका पदाधिकारीसँग छलफल गर्नेछौं।’

यसैबीच, देउवा पक्षका तरुण दलसम्बद्ध युवाहरू आयोग परिसर बाहिर धर्नामा बसेका छन्। आयोगले दुबै पक्षबाट परेका निवेदनमाथि छानबिन गरिरहेको जनाएको छ।

पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार आज दिउँसो २ बजे सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरिनेछ। सम्मेलनमा देउवा समूहले पछिल्लो राजनीतिक घटनाक्रम र आगामी रणनीतिबारे धारणा सार्वजनिक गर्नेछ।

पुस २७ देखि माघ १ गतेसम्म चलेको विशेष महाधिवेशनबाट गगन थापा सभापति चयन भएसँगै कांग्रेसभित्र विवाद चर्किएको हो। देउवा पक्षले विधानविपरीत छुट्टै कार्यसमिति घोषणा गरिएको आरोप लगाउँदै आएको छ भने गगन–विश्व समूहले पार्टी सुधारका लागि वैधानिक प्रक्रिया अपनाइएको दाबी गरिरहेको छ।

आधिकारिकताको टुंगो लगाउने जिम्मेवारी अब निर्वाचन आयोगको छानबिन र निर्णयमा निर्भर रहने देखिएको छ।