कांग्रेस विशेष महाधिवेशनः आज मतदान नहुने
काठमाडौँ । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि आज मतदान नहुने भएको छ। विशेष महाधिवेशनबाट गठित केन्द्रीय निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता सीताराम केसीका अनुसार निर्वाचन प्रक्रिया मंगलबारबाट सुरु हुनेछ।
उनका अनुसार मंगलबार साँझ साढे ६ बजेदेखि साढे ७ बजेसम्म उम्मेदवारी दर्ताका लागि समय तोकिएको छ। तोकिएको समयपछि मनोनयन दर्ताका लागि समय नथपिने पनि केसीले स्पष्ट पारे।
यसअघि आजै राति ९ बजेदेखि मतदान सुरु गर्ने निर्वाचन कार्यक्रम सार्वजनिक गरिएको थियो। तर उक्त कार्यक्रम परिवर्तन गर्दै मतदान र बाँकी निर्वाचन प्रक्रिया भोलिका लागि सारिएको हो।
अहीले उम्मेदवारी दर्ताको प्रक्रिया चलिरहेको छ। निर्वाचन समितिले सभापतिमा उम्मेदवारी दिन ३० हजार रुपैयाँ शुल्क तोकेको छ। त्यस्तै, पदाधिकारीका अन्य पदहरूका लागि करिब ३० वटा फारम लगिएको जानकारी निर्वाचन समितिले दिएको छ।
नेपाली कांग्रेसको विशेष महाधिवेशन काठमाडौँको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा जारी छ। बन्दसत्र सोमबार मध्याह्नदेखि सुरु भएको हो, जहाँ निर्वाचन प्रक्रिया अघि बढाइएको छ। विशेष महाधिवेशनमार्फत नयाँ नेतृत्व चयनका लागि मंगलबार मात्रै मतदान हुने निर्वाचन समितिले जनाएको छ।
