विशेष महाधिवेशनको बन्द सत्र उद्घाटन गर्न देउवालाई शर्माको आग्रह

तु खबर संवाददाता
२०८२ पुष २७, आईतवार १६:५४
file-photo

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं विघटित प्रतिनिधिसभा सदस्य सुनिल शर्माले विशेष महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै पार्टी सभापति शेरबहादुर देउवा र केन्द्रीय समितिले बहुमत महाधिवेशन प्रतिनिधिको मागलाई अवमूल्यन गरेको आरोप लगाएका छन्।

काठमाडौंको भृकुटीमण्डपमा आयोजित विशेष महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै शर्माले देशभरबाट आएका महाधिवेशन प्रतिनिधिको उपस्थितिले पार्टी नेतृत्वलाई गिज्याइरहेको जिकिर गरे। उपस्थित प्रतिनिधितर्फ इङ्गित गर्दै उनले भने, सभापतिज्यू, तपाईंलाई देशभरबाट आएका यी अनुहारले गिज्याइरहेको छ।

उनले पार्टीको मध्यमार्गी बाटो रहेको उल्लेख गर्दै सभापति देउवालाई बन्द सत्रको उद्घाटनमा सहभागी हुन आग्रह गरे। ‘शेरबहादुर दाइ, तपाईं ठूलो इतिहास बोकेको नेता हो। ८० कटिसक्नुभएको छ। उमेरका कारणले माथिबाट बोलाइरहेको बेलामा आफ्ना कार्यकर्ताहरू, जसले हिजो तपाईंलाई सभापति बनायो र पटक-पटक सत्तामा पुर्‍यायो, त्यो रोइलो छाडेर भोलि बिहान बन्द सत्र उद्घाटन गर्न यही हलमा आउनुस्, शर्माले भने।

सुनिल शर्माले विशेष महाधिवेशनको मागसहित बुझाइएको हस्ताक्षरबारे पार्टीभित्र छलफलसमेत नगरिएको भन्दै नेतृत्वप्रति आक्रोश व्यक्त गरे। उनले देउवालाई विभिन्न विकल्पहरू प्रस्तुत गर्न सकिने बताउँदै लोकतान्त्रिक प्रतिस्पर्धाबाट पार्टी बलियो हुने दाबी गरे।उनले पार्टी नफुटाइ एकढिक्का राख्दै सबै विकल्पमा सहकार्य गर्न आफूहरू तयार रहेको उल्लेख गर्दै नेतृत्वलाई साहस देखाउन आग्रह गरे।