कांग्रेस विशेष महाधिवेशनमा झण्डै आधा प्रतिनिधि सहभागी
काठमाडौँ । नेपाली कांग्रेसको दोस्रो विधान विशेष महाधिवेशन काठमाडौँको भृकुटीमण्डपमा आजबाट सुरु भएको छ । पार्टीका कुल ४ हजार ७ सय ४३ जना महाधिवेशन प्रतिनिधिमध्ये अहिलेसम्म ४९.३४ प्रतिशत अर्थात् २ हजार ३ सय ४० जनाले नाम दर्ता गराइसकेको जानकारी उद्घाटन सत्रमा दिइएको छ ।
महाधिवेशन प्रतिनिधिहरूको नाम दर्ता प्रक्रिया बिहान सवा ८ बजेदेखि सुरु भएको हो । सातै प्रदेशका प्रतिनिधिका लागि छुट्टाछुट्टै डेस्क व्यवस्था गरिएको छ भने भृकुटीमण्डप मूलगेटसँगैका स्टलहरूमा दर्ता प्रक्रिया जारी छ । आयोजकका अनुसार सहभागीको संख्या दिनभर थप बढ्ने अपेक्षा गरिएको छ ।
यसअघि नेपाली कांग्रेसका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर संकलन गरी विशेष महाधिवेशनको माग गरेका थिए । तर, पार्टी संस्थापन पक्षले सो मागलाई बेवास्ता गरेपछि महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले विधानको व्यवस्था टेकेर विशेष महाधिवेशन आह्वान गरेका हुन् ।तीन महिनाअघि उठाइएको माग कार्यान्वयन नभएपछि कांग्रेसलाई पुनर्जागरणतर्फ लैजाने उद्देश्यसहित दुईदिने विशेष महाधिवेशन आयोजना गरिएको आयोजकको भनाइ छ । महाधिवेशन भोलिसम्म सञ्चालन हुनेछ ।
