विशेष महाधिवेशनबाट कांग्रेस फुट्दैन, पहिले म बाहिरिन्छु : महामन्त्री शर्मा

तु खबर संवाददाता
२०८२ पुष २४, बिहीबार १०:५०
file-photo

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको दोस्रो विशेष महाधिवेशनका कारण कांग्रेस विभाजित नहुने स्पष्ट ठोकुवा गरेका छन्। यही पुस २७ र २८ गते काठमाडौँको भृकुटीमण्डपमा दोस्रो विशेष महाधिवेशन गर्ने गरी महाधिवेशन प्रतिनिधिहरूले पत्रकार सम्मेलनमार्फत आह्वान गरिसकेपछि सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले पार्टी एकतामाथि कुनै आँच नआउने बताएका हुन्।

महामन्त्री शर्माले विशेष महाधिवेशन पुस २७ मै हुने र त्यसबाट पार्टी विभाजन नहुने स्पष्ट पारे। विशेष महाधिवेशन हुन्छ, तर पार्टी विभाजन हुँदैन। यदि पार्टी विभाजन हुने अवस्था आयो भने महाधिवेशन हलबाट सबैभन्दा पहिले म बाहिरिन्छु, उनले उल्लेख गरेका छन्।

उनले पार्टीका साथीहरू सञ्चारकर्मी र आम जनमानसमा उठेका जिज्ञासालाई पाँच बुँदामा स्पष्ट गर्दै विशेष महाधिवेशन समयको आवश्यकता भएको बताए। पहिलो विशेष महाधिवेशनले पार्टीलाई सही दिशामा अघि बढाउन दूरदृष्टि दिएको स्मरण गराउँदै उनले अहिलेको राष्ट्रिय परिस्थिति र पार्टीको आन्तरिक अवस्थासमेत फरक भएकाले नयाँ संकल्प र नवीन दृष्टिकोण आवश्यक रहेको बताए।

विशेष महाधिवेशन वैधानिक भएको जिकिर गर्दै शर्माले नेपाली कांग्रेस विधानको धारा १७ को उपधारा २ अनुसार केन्द्रीय कार्यसमितिले आवश्यक ठानेमा वा ४० प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले लिखित माग गरेमा विशेष महाधिवेशन अनिवार्य रूपमा बोलाउनुपर्ने व्यवस्था रहेको स्पष्ट पारे।

विशेष महाधिवेशन आह्वानमा हस्ताक्षर नगरेका प्रतिनिधिहरू पनि सहभागी हुन पाउने भन्दै उनले यो सबै कांग्रेसजनको साझा महाधिवेशन भएको बताए। पुस २७ गते हुने उद्घाटन समारोहमा पार्टीका सबै तहका नेता-कार्यकर्ता सहभागी हुन सक्ने उनले उल्लेख गरे।

आगामी माघ ६ गते हुने उम्मेदवारी दर्ता र फागुन २१ गते हुने आम निर्वाचनमा विशेष महाधिवेशनले नकारात्मक असर नगर्ने दाबी गर्दै शर्माले भने मुर्झाएर बसेको कांग्रेसभन्दा जुर्मुराएर उठेको कांग्रेसले चुनावी मैदानमा राम्रो परिणाम दिन्छ।

उनले सबै कांग्रेसजनलाई एकताबद्ध भएर विशेष महाधिवेशनलाई भव्य र सफल बनाउन आह्वान गर्दै नयाँ संकल्प र नयाँ जागरण सिर्जना गर्नुपर्नेमा जोड दिएका छन्।