राष्ट्रिय सभा निर्वाचन केन्द्रित एमाले सचिवालय बैठक च्यासलमा जारी

तु खबर संवाददाता
२०८२ पुष २२, मंगलवार १०:५५

काठमाडौँ । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा जारी छ। बिहान पौने १० बजेदेखि सुरु भएको बैठकमा समसामयिक राजनीतिक परिस्थिति, आगामी राष्ट्रिय सभा तथा प्रतिनिधि सभा निर्वाचन, र पार्टीको आन्तरिक संगठनात्मक तयारीबारे छलफल भइरहेको छ।

एमाले सचिव महेश बस्नेतका अनुसार बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी र जनता समाजवादी पार्टी नेपालबीच राष्ट्रिय सभा निर्वाचनका लागि सिट बाँडफाँड, उम्मेदवार छनोट लगायत विषयमा केन्द्रित छलफल भइरहेको छ। सोमबार कांग्रेस-एमालेबीच राष्ट्रिय सभामा तालमेल गरेर उम्मेदवारी दिने विषयमा मोटामोटी समझदारी बनेको भए पनि अन्तिम टुंगो लाग्न बाँकी छ।

राष्ट्रिय सभामा रिक्त हुन लागेको १९ स्थानमध्ये १८ स्थानका लागि फागुन ११ गते निर्वाचन हुँदैछ। त्यसका लागि बुधबार उम्मेदवारी दर्ता गर्नुपर्ने भएकाले दलहरू सोमबार अबेर रातिसम्म छलफलमा जुटेका थिए। आजको सचिवालय बैठकले हिजोको छलफललाई अन्तिम रूप दिने एमाले नेताहरूले बताएका छन्।

बैठकमा आगामी प्रतिनिधि सभा निर्वाचन, राष्ट्रिय सभा सदस्यका उम्मेदवार, नेताहरूको अस्थायी कार्यविभाजन तथा पार्टीको दोस्रो केन्द्रीय कमिटी बैठकको तयारीबारे पनि छलफल भइरहेको छ। देश निर्वाचनतर्फ उन्मुख भएकाले हालका लागि अस्थायी कार्यविभाजन गरेर अघि बढ्ने एमालेको तयारी रहेको नेताहरूले बताएका छन्।

एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक यही पुस २७ देखि २९ गतेसम्म काठमाडौंमा बोलाइएको छ। प्रतिनिधि सभा निर्वाचन फागुन २१ गते हुने तय भएको छ।