नेकपाको एकता सभालाई सम्बोधन गर्न प्रचण्ड आज नयाँदिल्ली जाँदै
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज साँझ भारतको राजधानी नयाँदिल्ली प्रस्थान गर्ने भएका छन्। विभिन्न कम्युनिस्ट घटक मिलेर गठन भएको नेकपाका प्रवासी संगठनहरूको एकता सन्देश सभालाई सम्बोधन गर्न उनी दिल्ली जान लागेका हुन्।
प्रचण्डको सचिवालयका अनुसार, नेपाली समाज भारतको आयोजनामा सोमबार दिउँसो १ बजे लाजपत भवन अडिटोरियम, लाजपत नगर, नयाँदिल्लीमा एकता सन्देश सभा तथा साक्षात्कार कार्यक्रम आयोजना गरिएको छ। उक्त कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी भई प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम छ।
जेनजी आन्दोलनपछि एकीकृत समाजवादीसहितका दलहरू समेटेर नेपाली कम्युनिस्ट पार्टी गठन भएपछि प्रचण्डको यो पहिलो दिल्ली यात्रा हो। सन्देश सभालाई सम्बोधन गरेर उनी सोमबार साँझ नै स्वदेश फर्किने कार्यक्रम रहेको प्रचण्डका प्रमुख स्वकीय सचिव गोविन्द आचार्यले जानकारी दिए।
आचार्यका अनुसार, “एक महिना अघिदेखि तय भएको कार्यक्रम हो, त्यही सन्देश सभालाई सम्बोधन गर्न उहाँ दिल्ली जान लाग्नुभएको हो।” उनले दिल्ली बसाइका क्रममा उक्त कार्यक्रममा सहभागी हुने बाहेक अन्य राजनीतिक भेटघाटका कार्यक्रम नरहेको स्पष्ट पारे।
कार्यक्रममा प्रचण्डले नेपाली समुदायका साझा सरोकार, नेपाल-भारत सम्बन्धको मजबुती, प्रवासी नेपालीका समस्या र अवसर, साथै एकता र सहकार्यको महत्वबारे समसामयिक सन्देश दिने सचिवालयले जनाएको छ।
नेपाली समाज भारतका महासचिव आरबी खड्काका अनुसार, भारतमा बसोबास गर्ने नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई एकताबद्ध गर्दै सामाजिक-राजनीतिक चेतना अभिवृद्धि गर्नु कार्यक्रमको मुख्य उद्देश्य हो।
फागुन २१ गते हुन लागेको चुनावलाई ध्यानमा राख्दै प्रचण्डको दिल्ली यात्रालाई कतिपयले चासोका साथ हेरेका छन्। यद्यपि, प्रचण्डको सचिवालयले एकता सन्देश सभालाई सम्बोधन गर्ने बाहेक अन्य कुनै राजनीतिक गतिविधि तय नभएको जनाएको छ।
