निर्वाचन नै देशलाई निकास दिने सर्वोत्तम विकल्प : प्रचण्ड

तु खबर संवाददाता
२०८२ पुष १४, सोमबार १०:०४

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हाल विकसित राजनीतिक घटनाक्रमबाट देशलाई निकास दिने एकमात्र प्रभावकारी विकल्प निर्वाचन नै भएको बताएका छन्। जेनजी आन्दोलनपछि बनेको राजनीतिक अवस्थालाई शान्तिपूर्ण र लोकतान्त्रिक तरिकाबाट समाधान गर्न पूर्वनिर्धारित मितिमै निर्वाचन गराउनुपर्नेमा उनले जोड दिए।

सोमबार काठमाडौंमा आयोजित तथा बानेश्वर क्याम्पसमा स्ववियुले आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै प्रचण्डले निर्वाचन बाहेक अन्य विकल्पतर्फ सोच्दा देश फेरि अर्को दुर्घटनातर्फ जानसक्ने चेतावनी दिए। यो देशलाई निकास दिने अब निर्वाचन नै सबैभन्दा राम्रो विकल्प हो। अन्य विकल्पतिर सोचियो भने देश फेरि अर्को दुर्घटनामा पर्न सक्छउनले भने।

उनले नयाँ पुस्ता, विशेषगरी जेनजी युवाहरूको राजनीतिप्रति चासो बढ्दै जानु सकारात्मक संकेत भएको उल्लेख गर्दै यसले लोकतान्त्रिक प्रक्रियालाई थप बलियो बनाउने विश्वास व्यक्त गरे। प्रचण्डका अनुसार सबै राजनीतिक दल निर्वाचनमार्फत नै देशलाई राजनीतिक स्थिरता, स्थायित्व र विकासको नयाँ प्रक्रियातर्फ लैजान सकिन्छ भन्ने निष्कर्षमा पुगेका छन्।

फागुन २१ गते तय भएको प्रतिनिधि सभा निर्वाचनका लागि समानुपातिकतर्फको बन्दसूची पेस गर्ने तयारी भइरहेको सन्दर्भमा आफू खुसी भएको उल्लेख गर्दै उनले सबै दल सहभागी हुने वातावरण बनेकोमा धन्यवाद पनि दिए। सबैको सामूहिक प्रयासबाट संकटमा परेको राष्ट्रलाई निकास दिन सकिन्छ उनले भने।

संयोजक दाहालले शिक्षा, स्वास्थ्य र रोजगारीजस्ता विषयहरू राज्यको दायित्वभित्र आउनुपर्ने र अन्ततः ती सेवा नि:शुल्क हुनुपर्ने आफ्नो पार्टीको चाहना रहेको पनि बताए। आगामी दिनमा त्यसका लागि पहल गर्ने प्रतिबद्धता जनाउँदै उनले अराजकता फैलिने आशंका र सन्त्रासबाट देशलाई मुक्त गर्न सबैको एकता आवश्यक रहेको धारणा राखे।