सक्रिय राजनीतिमा फर्कन राष्ट्रपतिका सल्लाहकार सुनिल थापाको राजीनामा

तु खबर संवाददाता
२०८२ पुष १, मंगलवार १२:२९

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलका राजनीतिक सल्लाहकार सुनिल थापाले पदबाट राजीनामा दिएका छन्। नेपाली कांग्रेसको सक्रिय राजनीतिमा क्रियाशील हुने उद्देश्यले आफूले राजीनामा दिएको  बताएका छन्।थापाले पार्टीको महाधिवेशन आउँदैछ चुनावको मिति पनि तय भएको छ ,त्यसैले सक्रिय राजनीतिमा लाग्न पदबाट राजीनामा दिएको बताइएको छ।

राष्ट्रपति पौडेलको सचिवालयले पनि थापाले राजीनामा दिएको पुष्टि गरेको छ। थापाले केही दिनअघि नै राष्ट्रपतिसमक्ष राजीनामा पेस गरी स्वीकृत भइसकेको जानकारी दिए।

थापा २०७९ चैत १६ गते राष्ट्रपति पौडेलद्वारा राजनीतिक विज्ञ सल्लाहकारमा नियुक्त भएका थिए। उनी यसअघि नेपाली कांग्रेसका केन्द्रीय कार्यसम्पादन समिति सदस्य तथा पूर्व सहमहामन्त्रीसमेत रहेका छन्। २०७८ सालमा सम्पन्न कांग्रेसको १४ औँ महाधिवेशनमा उनी खुलातर्फ केन्द्रीय सदस्य निर्वाचित भएका थिए।

२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा थापा कांग्रेसबाट धनकुटा क्षेत्रका उम्मेदवार बनेका थिए। सो निर्वाचनमा उनी एमाले उम्मेदवार राजेन्द्र राईसँग पराजित भएका थिए।

सचिवालयका अनुसार आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनमा नेपाली कांग्रेसबाट उम्मेदवार बन्ने तयारीका लागि थापाले राजीनामा दिएका हुन्। थापाको नाम राष्ट्रियसभा सदस्य उम्मेदवारका लागि धनकुटाबाट सिफारिस भइसकेको छ।

नेपाली कांग्रेसले यही पुस २६ देखि २८ गतेसम्म १५ औँ महाधिवेशन गर्ने मिति तय गरेको छ भने सरकारले प्रतिनिधिसभा निर्वाचनको मिति फागुन २१ गते तोकेको छ। पार्टीको आन्तरिक गतिविधि र आगामी निर्वाचनलाई मध्यनजर गर्दै आफू पार्टीमै सक्रिय रहने निर्णयमा पुगेको थापाले बताएका छन्।