एमाले ११औँ महाधिवेशनः आज अन्तिम नामावली प्रकाशन

तु खबर संवाददाता
२०८२ मंसिर २९, सोमबार ०९:४६

काठमाडौं । काठमाडौंमा जारी नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज नेतृत्व चयन प्रक्रियाका शुरु हुदैछ । पार्टीको केन्द्रीय निर्वाचन आयोगले आज उम्मेदवारी दर्ता, दाबी-विरोधको छानबिन र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ ।

निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाका अनुसार मतदाता नामावलीमा परेको दाबी-विरोधको छानबिन बिहान १० बजेसम्म सम्पन्न गरी बिहान १०ः१५ बजे अन्तिम मतदाता नामावली प्रकाशन गरिनेछ । बिहान ९ बजेदेखि १२ बजेसम्म उम्मेदवारीका दरखास्त फाराम वितरण गरिनेछ भने बिहान १०ः३० बजेदेखि दिउँसो १ः३० बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय तोकिएको छ ।

दिउँसो २ः३० बजे उम्मेदवारको प्रारम्भिक नामावली सार्वजनिक गरिनेछ । सो नामावलीमाथि दिउँसो ३ बजेसम्म दाबी-विरोध गर्न सकिने व्यवस्था गरिएको छ । उजुरीमाथि छानबिन र निर्णय दिउँसो ३ः१० बजेसम्म गरिनेछ । उम्मेदवारले नाम फिर्ता लिन चाहे दिउँसो ३ः१० बजेदेखि साँझ ५ बजेसम्मको समय दिइएको छ । सबै प्रक्रिया पूरा भएपछि साँझ ६ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ ।

महाधिवेशनको दोस्रो दिनको बन्दसत्र आज बिहान ८ बजेबाट भृकुटीमण्डपमा सुरु भएको छ । बन्दसत्र सोमबार पनि जारी रहने एमालेले जनाएको छ । महाधिवेशनमा २ हजार २६२ जना प्रतिनिधि सहभागी छन् ।

यसैबीच नेतृत्व चयनका लागि समूहगत प्रतिस्पर्धा तीव्र बनेको छ । ईश्वर पोखरेल समूहले महासचिवमा सुरेन्द्र पाण्डे, उपाध्यक्षमा गोकर्ण विष्ट र उपमहासचिवमा योगेश भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । अन्य पदका उम्मेदवार टुंग्याउन छलफल जारी रहेको नेताहरूले बताएका छन् ।

निर्वाचन तालिकाअनुसार नयाँ नेतृत्व चयनका लागि पुस १ गते मंगलबार बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुनेछ । अध्यक्ष पदमा वर्तमान अध्यक्ष केपी शर्मा ओली र ईश्वर पोखरेल समूहबीच प्रतिस्पर्धा हुने देखिएको छ ।

शनिबार भक्तपुरको सल्लाघारीमा उद्घाटन भएको एमालेको ११औँ महाधिवेशन मंसिर २९ सम्म सम्पन्न गर्ने कार्यतालिका रहे पनि बन्दसत्र लम्बिँदा महाधिवेशनको अवधि बढ्न सक्ने जनाइएको छ ।