बोन्डी बीच गोलीकाण्डपछि अष्ट्रेलियामा कडाइ बन्दुक कानूनको बहस तीव्र
काठमाडौं ।अष्ट्रेलियाको सिड्नीस्थित बोन्डी समुद्र तटमा भएको घातक सामूहिक गोलीकाण्डमा मृत्यु हुनेको संख्या १५ पुगेको छ भने ३८ जना अझै अस्पतालमा उपचाररत छन्। घाइतेमध्ये एक जना प्रत्यक्षदर्शी अहमद अल अहमद पनि छन् जसले आक्रमणको क्रममा एक बन्दुकधारीसँग जुध्दै बन्दुक खोसेर धेरैको ज्यान जोगाएका थिए।
हनुक्काको पहिलो रात मनाउन भेला भएका सयौं मानिसहरूलाई लक्षित गर्दै भएको यो आक्रमणलाई प्रधानमन्त्री एन्थोनी अल्बानीजले “आतंककारी कार्य दुष्टता र यहूदीविरोधीको आक्रमण भनेका छन्। उनले देशभरका नागरिकलाई साँझ ६:४७ बजे मैनबत्ती बालेर पीडितप्रति ऐक्यबद्धता जनाउन आह्वान गरेका छन्।
आइतबार भएको यो घटनाले अष्ट्रेलियामा बन्दुक कानूनहरू पर्याप्त छन् कि छैनन् भन्ने विषयमा पुनः गम्भीर बहस सुरु भएको छ। प्रधानमन्त्री अल्बानीजले आज मन्त्रिपरिषद् बैठकमा अझ कडा बन्दुक कानून, बन्दुकको संख्यामा सीमा, इजाजतपत्रको समयावधि र कडा समीक्षा प्रणालीबारे छलफल हुने बताएका छन्। न्यु साउथ वेल्सका मन्त्री क्रिस मिन्सले पनि कानून संशोधनको संकेत दिएका छन्।
सी एनएन समाचारका अनुसार अष्ट्रेलियामा सन् १९९६ मा तस्मानियामा भएको नरसंहारपछि कडा बन्दुक कानून लागू गरिएपछि बन्दुक हिंसा दर उल्लेखनीय रूपमा घटेको थियो। जुलाई २०२३ देखि जुन २०२४ सम्म देशभर बन्दुकसँग सम्बन्धित केवल ३१ हत्या भएको तथ्यांक छ। तर पछिल्ला वर्षहरूमा कानुनी रूपमा राखिएका बन्दुकहरूको संख्या बढेर करिब ४० लाख पुगेको छ, जसले सुरक्षा व्यवस्थामाथि पुनर्विचार गर्न बाध्य पारेको बताइएको छ।
प्रहरीका अनुसार आक्रमणमा संलग्न दुई संदिग्धमध्ये ५० वर्षीय बुबालाई घटनास्थलमै गोली हानी मारिएको थियो भने २४ वर्षीय छोरा अस्पतालमा उपचाररत छन् र उनीविरुद्ध अभियोग दायर गर्ने तयारी भइरहेको छ। सुरक्षा निकायले जनाएअनुसार छोरा पहिले अधिकारीहरूको रडारमा आए पनि तत्काल खतरा नठानिएको थियो।
यसैबीच, आक्रमणमा मारिएकी १० वर्षीया माटिल्डालाई परिवार, शिक्षक र समुदायले “सधैं मुस्कुराउने, उज्यालो बच्चा” का रूपमा सम्झिरहेका छन्। घटनाले अष्ट्रेलियालाई स्तब्ध बनाएको छ र सार्वजनिक स्थलको सुरक्षा तथा बन्दुक नियन्त्रणमा थप कडाइको माग तीव्र बन्दै गएको छ।
