युनुसको प्रस्तावले भारत–बंगलादेश सम्बन्धमा नयाँ बहस
काठमाडौं ।बंगलादेश सरकार प्रमुखबाट राजीनामा दिने घोषणा गरेका मुहम्मद युनुस ले विदाई सम्बोधनमा नेपाल, भुटान र भारतका उत्तरपूर्वी “सेभेन सिस्टर्स” राज्यहरूलाई समेटेर उप–क्षेत्रीय आर्थिक सहकार्यको प्रस्ताव अघि सारेका छन्। उनले कनेक्टिभिटी, व्यापार सम्झौता र बंगलादेश हुँदै समुद्री पहुँचलाई क्षेत्रीय आर्थिक विकासको आधारका रूपमा उल्लेख गरे।
युनुसले आफ्नो १८ महिनाको कार्यकालमा विदेश नीति सार्वभौमसत्ता, राष्ट्रिय हित र मर्यादामा आधारित रहेको दाबी गर्दै बंगलादेश अब कुनै पनि देशको निर्देशनमा नचल्ने बताए। भारतको नाम सिधै नलिई उत्तरपूर्वी राज्यहरूको उल्लेख गर्नुले नयाँ दिल्लीमा ध्यान खिच्ने अनुमान गरिएको छ।
उनको कार्यकालमा भारत–बंगलादेश सम्बन्ध कमजोर बनेको पृष्ठभूमिमा आएको यो अभिव्यक्तिलाई अर्थपूर्ण रूपमा हेरिएको छ। युनुस नेतृत्वको अन्तरिम सरकारले अब बी एन पी को नवनिर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्दैछ।
