मधेस प्रदेशमा नयाँ सरकार, मुख्यमन्त्री यादवद्वारा शपथ ग्रहण
काठमाडौं ।मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। उनलाई प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले मधेस भवनमा आयोजित समारोहमा मैथिली भाषामा शपथ गराएका हुन्।
मुख्यमन्त्री यादव यही मंसिर २४ गते प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा छन्। शपथ ग्रहण समारोहमा पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधि, मधेस प्रदेशका पूर्वमुख्यमन्त्री, पूर्वमन्त्रीहरू, विभिन्न मन्त्रालयका सचिवहरू तथा गठबन्धनमा आबद्ध दलका नेता-कार्यकर्ताको उपस्थिति रहेको थियो।
नेपाली कांग्रेस संसदीय दलका नेता समेत रहेका यादवलाई कांग्रेस, जसपा नेपाल, जनमत पार्टी, तत्कालीन नेकपा माओवादी केन्द्र, लोसपा र तत्कालीन एकीकृत समाजवादी लगायत ७ दलका ७७ प्रदेशसभा सदस्यको समर्थनमा यही मंसिर १९ गते मुख्यमन्त्री नियुक्त गरिएको थियो।
मुख्यमन्त्री यादवले आजै सानो आकारको मन्त्रिमण्डल गठन गर्ने तयारी भएको बताइएको छ। तर दलहरूबीच आन्तरिक तयारी नपुगेकाले मन्त्रिमण्डल गठन तत्काल हुने-नहुने टुंगो लागिसकेको छैन।
यसअघि संविधानको धारा १६८ को उपधारा (३) बमोजिम ठूलो दलको हैसियतमा मुख्यमन्त्री बनेका नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादवले मंसिर १७ गते राजीनामा दिएपछि संविधानको धारा १६८ को उपधारा (२) बमोजिम कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव मुख्यमन्त्री नियुक्त भएका हुन्।
गत कार्तिक २३ गते राति एमालेका यादव संविधानको धारा १६८(३) अनुसार मुख्यमन्त्री नियुक्त हुँदा सातदलीय गठबन्धनले सर्वोच्च अदालतमा रिट दायर गरेको थियो। सर्वोच्च अदालतले २४ घण्टाभित्र विश्वासको मत लिन आदेश दिँदै विश्वासको मत प्राप्त हुन नसके धारा १६८(२) अनुसार नयाँ सरकार गठन गर्न निर्देशन दिएको थियो। यही आदेशको आधारमा मधेस प्रदेशको सत्ता नेतृत्व कांग्रेसका नेता कृष्णप्रसाद यादवको हातमा आएको हो।


