एमाले ११औँ महाधिवेशनको बन्दसत्र आजदेखि, नयाँ नेतृत्व चयन प्रक्रिया
काठमाडौं। नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदैछ। काठमाडौँको भृकुटीमण्डपमा बिहानका लागि तय गरिएको बन्दसत्र केन्द्रीय कमिटी बैठकका कारण दिउँसो १२ः३० बजेबाट सञ्चालन हुने प्रचार विभागले जानकारी दिएको छ।
हिजो भक्तपुरको सल्लाघारीमा उल्लेख्य जनसहभागिता र शक्ति प्रदर्शनसहित महाधिवेशनको उद्घाटन सम्पन्न भइसकेको छ। विधान महाधिवेशन गत भदौमै सम्पन्न भइसकेकाले एमाले आजबाट सिधै नयाँ नेतृत्व चयन प्रक्रियामा प्रवेश गर्न लागेको हो।
बन्दसत्रमार्फत आगामी पाँच वर्षका लागि पार्टीको नयाँ नेतृत्व चयन गरिनेछ। देशभरका करिब साढे ६ लाख पार्टी सदस्यहरूमध्येबाट छनोट भएका २ हजार २ सय ६२ जना प्रतिनिधिले एक अध्यक्ष, एक महासचिव, तीन उपाध्यक्ष, तीन उपमहासचिव र सात सचिवसहित २५१ सदस्यीय केन्द्रीय कमिटी चयन गर्नेछन्।
अध्यक्ष पदमा वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुने लगभग निश्चित भएको छ। दुवै नेताले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् भने पदाधिकारीको प्यानल बनाउने गृहकार्यसमेत सुरु गरेका छन्। एमालेले सकेसम्म सहमतिमै नेतृत्व चयन गर्ने प्रयास भइरहेको जनाएको छ। सहमति जुट्न नसके मतदान प्रक्रियामार्फत नेतृत्व चयन गरिनेछ, जसका लागि विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने तयारी छ।
महासचिव पदमा ओली पक्षबाट वर्तमान महासचिव शंकर पोखरेलसहित उपमहासचिवद्वय प्रदीप ज्ञवाली र पृथ्वीसुब्बा गुरुङले दाबी गर्दै आएका छन्। यस्तै, ईश्वर पोखरेल पक्षले उपाध्यक्ष सुरेन्द्र पाण्डे, सचिव योगेश भट्टराई र गोकर्ण विष्टमध्ये एक जनालाई महासचिवको उम्मेदवार बनाउने तयारी गरेको छ। उपाध्यक्ष र सचिव पदमा पनि दुवै समूहका धेरै नेताहरूले आकाङ्क्षा देखाएका छन्।
पदाधिकारीमा आकाङ्क्षी धेरै हुँदा नेताहरूको व्यवस्थापन चुनौतीपूर्ण हुने देखिएको छ। जेएनजी आन्दोलनपछिको राजनीतिक परिस्थितिलाई ध्यानमा राख्दै पदाधिकारी, पोलिटब्युरो र केन्द्रीय कमिटीमा ४० वर्ष हाराहारी उमेर समूहका नेताको प्रतिनिधित्व बढाउनुपर्ने आवाज पार्टीभित्र उठिरहेको छ। महाधिवेशन प्रतिनिधिमध्ये करिब चार सय जना ४० वर्षमुनिका युवा रहेका छन्।
महाधिवेशनका लागि हालका सबै पदाधिकारी समेटिएको अध्यक्षमण्डल गठन भइसकेको छ। प्रस्ताव लेखन तथा माइन्युट लेखन समितिको जिम्मेवारी उपमहासचिवद्वय प्रदीप ज्ञवाली र पृथ्वीसुब्बा गुरुङलाई दिइएको छ। आज सुरु हुने बन्दसत्रले एमालेको भावी नेतृत्व र राजनीतिक दिशा तय गर्ने अपेक्षा गरिएको छ।
