आसन्न निर्वाचन तयारीमा बालुवाटारमा आज सर्वपक्षीय बैठक

तु खबर संवाददाता
२०८२ मंसिर १९, शुक्रबार १०:२६

काठमाडौं । आगामी फागुन २१ गते तय गरिएको प्रतिनिधिसभा निर्वाचनका तयारी र आवश्यक वातावरण निर्माणका विषयमा आज प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा सर्वपक्षीय बैठक बस्दै छ। बैठक आज अपरान्ह ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाइएकाले सरकार, प्रमुख पाँच राजनीतिक दल, निर्वाचन आयोग तथा चारवटै सुरक्षा निकायका प्रमुखहरू एकै ठाउँमा जुट्नेछन्।

प्रधानमन्त्री कार्कीका प्रेस संयोजक रामबहादुर रावलका अनुसार नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सहित निर्वाचन आयोगका पदाधिकारी र सुरक्षा निकायका प्रमुखहरूलाई बैठकमा आमन्त्रण गरिएको छ। यसैगरी जेनजी प्रतिनिधि तथा मन्त्रीहरूसमेत सहभागी हुने प्रधानमन्त्री सचिवालयले जनाएको छ।

विघटित प्रतिनिधि सभाका दलहरूसँग निरन्तर संवाद गर्दै आएकी प्रधानमन्त्री कार्कीले निर्वाचनलाई लक्षित महत्वपूर्ण छलफलका लागि दलका दोस्रो तहका नेताहरूलाई समेत बोलाएकी छिन्। मुख्य राजनीतिक दलहरूले पनि बैठकमा दोस्रो तहका नेताहरू नै पठाउने जनाएका छन्। यसअघि भएका छलफलहरूमा पनि शीर्ष नेताहरूको सहभागिता न्यून देखिएकाले आजको बैठकलाई विशेष महत्वका रूपमा हेरिएको छ।

निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनको कार्यतालिका सार्वजनिक गरिसकेको छ भने सरकार निरन्तर सरोकावाला पक्षसँग समन्वयमा जुटिरहेको छ। यद्यपि नेकपा (एमाले) ले भने अझै निर्वाचन हुनेमा शंका व्यक्त गर्दै आएको छ। यस्तो अवस्थामा प्रधानमन्त्री कार्कीले वातावरण निर्माण र सहमति प्रक्रियालाई तीव्र बनाउन बैठक डाकिएको बताइएको छ।

आजको सर्वपक्षीय बैठक आगामी निर्वाचन तयारीबारे साझा समझदारी निर्माण गर्न महत्वपूर्ण हुने अपेक्षा गरिएको छ।