भक्तपुर सल्लाघारीमा एमालेको ११औँ महाधिवेशन :मञ्च तयारी अन्तिम चरणमा
काठमाडौं ।नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन भोलिबाट सुरु हुँदैछ। भक्तपुरको सल्लाघारीस्थित तीनकुने खुलाचौरमा हुने उद्घाटन सत्रका लागि मञ्च व्यवस्थापन तथा सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको आयोजकहरूले बताएका छन्। पार्टीले यस पटकको उद्घाटन कार्यक्रमलाई भव्य र फरक ढंगले प्रस्तुत गर्न सांस्कृतिक प्रस्तुति, आधुनिक प्रविधि र विशाल संरचनालाई विशेष प्राथमिकताका साथ तयार पारेको छ।
मञ्च व्यवस्थापन समितिका संयोजक तथा पोलिटब्युरो सदस्य विनोद श्रेष्ठका अनुसार करिब ९० प्रतिशत काम सकिइसकेको छ। चाँगुनारायण मन्दिरसहित काठमाडौँ उपत्यकाका प्रमुख सांस्कृतिक सम्पदालाई पृष्ठभूमिमा समेटिएको मञ्च तीन किलोमिटरसम्म ध्वनि पुग्नेगरी अत्याधुनिक श्रव्य-दृश्य प्रणालीसहित निर्माण गरिएको उनले बताए। देशभरबाट २२ सय ६२ प्रतिनिधि सहभागी हुने महाधिवेशनमा ३ लाखभन्दा बढी जनसमुदायको उपस्थिति रहने एमालेको दाबी छ। साथै विभिन्न मित्र मुलुकका पार्टी तथा संस्थाले पठाउने शुभकामना सन्देश प्रस्तुत गरिनेछ भने नेपालका प्रमुख दलका नेताहरू पनि उपस्थित भएर शुभकामना दिने कार्यक्रम रहेको नेता राजन भट्टराईले जानकारी दिए।
स्वयंसेवक परिचालन समितिका संयोजक भानुभक्त ढकालका अनुसार सुरक्षा व्यवस्थापनदेखि भीड नियमनसम्मका कामका लागि ५ सय विशेष ड्रेस कोड स्वयंसेवक खटाइने छन्। यी स्वयंसेवकलाई २४ जनसंगठनमार्फत चयन गरिएको र प्रत्येक १० जनामा एक कमाण्डर राखी कमान्ड संरचना अनुसार परिचालन गरिने उनले बताए। साथै उद्घाटन सत्रपछि हुने कार्यक्रमहरूलाई व्यवस्थित बनाउन १० हजार स्वयंसेवक पनि तैनाथ गरिनेछ, जसले प्रतिनिधिहरूको सहजीकरण, अतिथि सत्कार तथा कार्यक्रमस्थल व्यवस्थापनमा समन्वय गर्नेछन्।
भक्तपुरको इतिहास र सांस्कृतिक विशेषतालाई ध्यानमा राखेर सल्लाघारीलाई महाधिवेशन स्थल चयन गरिएको आयोजकको भनाइ छ। राजधानीका विभिन्न क्षेत्रबाट आएका प्रतिनिधि विशाल मञ्च, आधुनिक प्रविधि र व्यवस्थापनको तयारीप्रति उत्साहित देखिएका छन्। यसपटकको एमाले महाधिवेशनलाई पार्टीभित्रको नेतृत्व संरचना र भावी राजनीतिक दिशालाई दृष्टिगत गरी विशेष चासोसहित हेरिएको छ।
