भट्टराई–शर्मा–परियार समूहको एकता, नयाँ पार्टी आज सार्वजनिक

तु खबर संवाददाता
२०८२ मंसिर ७, आईतवार ०९:५६

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी आज (आइतबार) औपचारिक रूपमा घोषणा हुन लागेको छ। बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति), जनार्दन शर्मा–सुदन किराँती नेतृत्वको प्रगतिशील राष्ट्रिय अभियान तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) त्यागेका सन्तोष परियार समूहबीच एकता गरेपछि नयाँ पार्टी गठन प्रक्रिया अन्तिम चरणमा पुगेको हो।पार्टीमा समावेशी ढाँचाअनुसार ‘अध्यक्ष परिषद्’ गठन गरिने तयारी छ। दलित, महिला, आदिवासी जनजाति, मधेशी तथा पिछडिएको क्षेत्रलगायत सबै क्लस्टरको प्रतिनिधित्व हुने गरी ६/७ सदस्यीय परिषद् रहने बताइएको छ। तीन जना सदस्यको नाम टुंगो लागिसकेको र उनीहरूको घोषणा आजकै एकता घोषणा सभामा गरिने सन्तोष परियारले बताए। परिषद्‌मा परियार, सुदन किराँती र दुर्गा सोबसमेत रहने तयारी भएको छ।

राष्ट्रिय सभागृह काठमाडौँमा दिउँसो साढे १२ बजे हुने एकता घोषणा सभाको अध्यक्षता सन्तोष परियारले गर्नेछन्। कार्यक्रमको सम्पूर्ण तयारी सकिएको नेसपा (नयाँ शक्ति)का प्रचार विभाग प्रमुख रेखी गुरुङले जानकारी दिए। एकता सभामा प्रमुख तीन घटकसँगै नयाँ तथा वैकल्पिक अन्य समूहलाई पनि सहभागी गराउने बताइएको छ।गत कात्तिक २८ गते नेसपा (नयाँ शक्ति), प्रगतिशील राष्ट्रिय अभियान र परियार समूहबीच एकता सहमतिमा हस्ताक्षर भएको थियो। नयाँ शक्तिले विवेकशील–साझा, नागरिक उन्मुक्ति पार्टी नेपाल तथा जेनजीका विभिन्न समूहसँग अर्को चरणको एकताबारे छलफल गरिरहेको परियारले बताए।

यसअघि माओवादी केन्द्रसहित १० वाम घटकबीच कात्तिक १९ गते ‘नेपाली कम्युनिस्ट पार्टी’ घोषणा भएपछि जनार्दन शर्मा प्रचण्ड नेतृत्वबाट अलग हुँदै प्रगतिशील राष्ट्रिय अभियानतर्फ सफल भएका थिए। रास्वपाको संस्थागत चरित्र नै निर्माण गर्न नसकिएको भन्दै सन्तोष परियारले पनि कात्तिक २८ मा पार्टी परित्याग गरेका थिए।परियारका अनुसार निर्वाचन आयोगले तोकेको समयसीमाभित्र नयाँ पार्टी दर्ता भइसकेको छ र आजको सभामार्फत प्रगतिशील लोकतान्त्रिक पार्टी पूर्ण रूपमा सार्वजनिक गरिँदै छ।