अफ्ताब आलमप्रति कांग्रेसको श्रद्धाञ्जली, बैठक कात्तिक २५ गते

तु खबर संवाददाता
२०८२ कार्तिक २२, शनिबार १४:४५

काठमाडौं । नेपाली कांग्रेसको आइतबार साढे ११ बजे बस्ने तय भएको केन्द्रीय कार्यसमिति बैठक स्थगित गरिएको छ। पार्टीका पूर्व केन्द्रीय सदस्य, पूर्व मन्त्री तथा रौतहटका पूर्व जिल्ला सभापति मोहम्मद अफ्ताव आलमको निधनका कारण बैठक स्थगित गरिएको हो।

शनिबार कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा बसेको आकस्मिक बैठकले आलमको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ। बैठकले पार्टीका केन्द्र, प्रदेश र जिल्लास्तरका कार्यालयहरूमा कात्तिक २२, २३ र २४ गतेसम्म झण्डा आधा झुकाउने र कात्तिक २३ गते आइतबार सबै पार्टी कार्यालयहरू बन्द गर्ने निर्णय गरेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन्।

नेपाली कांग्रेसले स्वर्गीय आलमको सम्झनामा १३ दिनसम्म केन्द्र, प्रदेश र जिल्ला कार्यालयहरूमा शोक पुस्तिका राख्ने पनि निर्णय गरेको छ। साथै, स्थगित गरिएको केन्द्रीय कार्यसमिति बैठक अब कात्तिक २५ गते दिउँसो ११ः३० बजे बस्ने तय गरिएको छ।

पूर्व मन्त्री मोहम्मद अफ्ताव आलमको ६३ वर्षको उमेरमा शुक्रबार राति काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको हो। वि.सं. २०१९ असार ५ गते रौतहटको राजपुर फरहदवामा जन्मिएका आलमले २०३६ सालदेखि नेपाल विद्यार्थी संघमार्फत राजनीतिक यात्रा सुरु गरेका थिए।

उनी वि.सं. २०५३ को उपनिर्वाचन, २०५६ र २०६४ सालको आम निर्वाचन तथा २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा रौतहट क्षेत्र नं. २ बाट विजयी भएका थिए। पार्टीभित्र आलम एक अनुभवी नेताको रूपमा परिचित रहेका थिए।