वैकल्पिक वाम ध्रुवीकरणतर्फ तीन नेताको छलफल
काठमाडौँ । वैकल्पिक राजनीतिक शक्ति निर्माणको पहलमा रहेका प्रगतिशील अभियानका नेता जनार्दन शर्मा, एकीकृत समाजवादीका पूर्व महासचिव घनश्याम भूसाल र कम्युनिस्ट पार्टी नेपाल (नेकपा) का महासचिव नेत्रविक्रम चन्द विप्लव बीच आज बिहान ललितपुरको हरिसिद्धीमा भेटवार्ता भएको छ ।
शर्मा र भूसाल शुक्रबार बिहानै हरिसिद्धीस्थित विप्लव निवासमा पुगेका थिए । भेटवार्तामा देशको वर्तमान राजनीतिक परिस्थिति र वामपन्थी ध्रुवीकरणको नयाँ सम्भावना विषयमा केन्द्रित छलफल भएको स्रोतले बताएको छ ।तीन नेताबीच हाल जारी छलफलमा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) बीच भएको वाम एकता प्रक्रियाप्रति असन्तुष्टि, तथा वैकल्पिक वाम मोर्चा निर्माणको सम्भावनाबारे समेत विचारविमर्श भइरहेको जनाइएको छ ।
गत कात्तिक १९ गते माओवादी केन्द्र, एकीकृत समाजवादीसहितका १० वाम घटकबीच भएको एकता प्रक्रियाप्रति शर्मा, भूसाल र विप्लव असन्तुष्ट छन् । यसअघि पनि शर्मा, राम कार्की र भूसालले विप्लवसहितका नेताहरूसँग नयाँ वाम ध्रुवीकरणबारे अनौपचारिक छलफल गर्दै आएका थिए ।शर्माले हिजो मात्र पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र रास्वपाका नेताहरूसँग पनि वैकल्पिक राजनीतिक शक्ति निर्माणबारे कुराकानी गरेका थिए ।एमाले र नवगठित नेकपासँग असन्तुष्ट वाम नेताहरूबीच छुट्टै राजनीतिक ध्रुवीकरणको चर्चा चलिरहेको बेला भएको आजको भेटवार्ताले वाम राजनीतिमा नयाँ समीकरण बन्ने संकेत गरेको छ ।
