महाधिवेशन मितिमाथि सहमति खोज्दै कांग्रेस कार्यसमिति बैठक सुरु

तु खबर संवाददाता
२०८२ कार्तिक १८, मंगलवार १४:५५

काठमाडौं । पटक–पटक स्थगित हुँदै आएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आजबाट पुनः सुरु भएको छ । महाधिवेशनको मिति निर्धारणमा मतभेद भएपछि रोकिएको बैठक करिब एक घण्टा ढिलो गरी पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु गरिएको हो।

बैठक कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सुरु गरेका छन्। बैठकको प्रारम्भिक सत्रमा खड्काले एजेन्डा प्रस्तुत गरेपछि महामन्त्री गगन थापालाई बोल्ने अवसर दिने तयारी गरिएको छ। यसअघि सोमबार ललितपुरको धोविघाटमा कार्यवाहक सभापति खड्काले बोलाएको छलफलमा थापा बैठकमा सहभागी हुने सहमति बनेको थियो।

शुक्रबारदेखि बस्न नसकेको बैठक २८ असोजदेखि सुरु भए पनि महाधिवेशन मितिमाथि सहमति नजुट्दा बारम्बार स्थगित हुँदै आएको हो। महामन्त्री गगन थापाले आगामी मंसिर २७ देखि २९ गतेसम्म नियमित महाधिवेशन गर्ने प्रस्ताव तयार पारेका छन् तर सो प्रस्ताव अहिलेसम्म कार्यसमिति बैठकमा पेस गर्न पाएका छैनन्।

महाधिवेशन चुनावअघि गर्ने वा पछि गर्ने भन्ने विषयमा नेतृत्व तहमा फरक मत रहँदै आएको छ। शीर्ष नेताहरुबीच शनिबारदेखि लगातार छलफल भए पनि साझा प्रस्तावमा सहमति जुट्न नसकेकाले बैठक लम्बिएको हो। आजको बैठकमा महामन्त्री थापा चुनावअघि महाधिवेशन गर्ने प्रस्ताव पेश गर्ने तयारीमा छन्, जसको आधारमा आगामी निर्णय हुने अपेक्षा गरिएको छ।