एमाले बैठकमा नेतृत्व परिवर्तनको माग तीव्र, ओलीमाथि दबाब बढ्दो
काठमाडौँ । नेकपा एमालेको ललितपुरको जावलाखेलमा जारी केन्द्रीय कमिटी बैठकमा नेतृत्व परिवर्तनको एजेण्डा तीव्र रूपमा अघि बढिरहेको छ । शुक्रबारको बैठकमा केन्द्रीय सदस्य उषाकिरण तिम्सिनाले अध्यक्ष केपी शर्मा ओलीलाई अध्यक्ष पदबाट राजीनामा दिन सुझाव दिएकी छन्।
अध्यक्ष ओलीको विशेष प्रतिवेदनमाथि धारणा राख्दै तिम्सिनाले नेपाली राजनीतिको मुख्य कार्यभार दलहरूको पुनर्गठन भएको बताउँदै त्यसका लागि एमालेको पनि पुनर्गठन अपरिहार्य भएको उल्लेख गरिन्। उनले भनिन्, “अब हाम्रो अध्यक्षले राजीनामा गरेर मुलुकको राजनीतिक गतिरोधको ढोका खोल्नुपर्छ। यही संरचना लिएर चुनाव वा आन्दोलनमा जानै सकिँदैन।”
तिम्सिनाले जेनजी आन्दोलनको एक प्रमुख माग पनि पार्टीहरूको पुनर्गठन भएकाले एमालेमा नयाँ नेतृत्व आउनैपर्ने बताइन्। उनले ११ वर्षदेखि ओलीको नेतृत्वमा भएका राजनीतिक अभ्यासहरूले बाम आन्दोलनलाई कमजोर बनाएको भन्दै अब नयाँ पुस्तालाई अवसर दिनु जरूरी रहेको टिप्पणी गरिन्।
बैठकमा प्रस्तुत आफ्ना दशबुँदे सुझावमा उनले पार्टीको धारणा संसद् पुनर्स्थापनामा नभई नयाँ निर्वाचनमा केन्द्रित हुनुपर्नेमा जोड दिइन्। तिम्सिनाले भनिन्, “तत्काल नयाँ नेतृत्वमा गएर हामी चुनावमा होमियौँ भने एमाले फेरि खरानी टकटक्याएर बौरनेछ।”
यसअघि सचिवालय बैठकमा योगेश भट्टराईले ओलीलाई राजीनामा गरेर अभिभावकको भूमिकामा रहन प्रस्ताव गरेका थिए। सो प्रस्तावपछि ओली असन्तुष्ट बनेको बताइएको छ। भट्टराई निकट एक नेताका अनुसार, “गुरु बराल बाहेक सबै उपाध्यक्षले ओलीलाई मार्ग प्रशस्त गर्न आग्रह गरिसकेका थिए।”
२४ असोजमा बसेको बैठकमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा ‘बादल’, विष्णुप्रसाद पौडेल र सुरेन्द्र पाण्डे सबैले नेतृत्व परिवर्तनको पक्षमा एक स्वरमा समर्थन जनाएका थिए।
त्यस्तै, केन्द्रीय सदस्य अरविन्द सिंहले पनि ओलीको राजनीतिक प्रतिवेदन विधान महाधिवेशनपछि २४ घण्टा नबित्दै फेल भएको टिप्पणी गर्दै वर्तमान जनआक्रोश अध्यक्ष ओलीको व्यक्तिगत शैली र उनको वरिपरि रहेको समूहप्रति केन्द्रित भएको बताए।
सिंहका अनुसार, “यो यथार्थ आत्मसात् गर्दै अध्यक्षले जिम्मेवारी हस्तान्तरण गरेर मार्ग प्रशस्त नगरे एमालेको भविष्य जोगाउन कठिन हुनेछ।”
एमालेको केन्द्रीय कमिटी बैठकमा यसरी अध्यक्ष ओलीको राजीनामा र नेतृत्व हस्तान्तरणको आवाज बुलन्द हुँदै गएको छ, जसले पार्टीभित्र नयाँ राजनीतिक समीकरणको संकेत दिएको छ।
