‘जनताप्रति सेवाभावका साथ उत्तरदायी भएर प्रस्तुत हुनुपर्छ’

तु खबर संवाददाता
२०८१ पुष २,मंगलवार १६:४३

ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै तहका सरकारहरु जनताप्रति सेवाभावका साथ उत्तरदायी भएर प्रस्तुत हुनुपर्नेमा जोड दिएका छन् ।

मंगलबार ललितपुर महानगरपालिकाको १०६ औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो जोड दिएका हुन् ।

उनले जातीय विविधताको सम्मान र राष्ट्रिय एकतालाई कायम गर्दै सुशासनयुक्त समृद्ध नेपाल निर्माणको बाटामो तीब्रताका साथ अगाडि बढ्नुपर्ने बताए ।

प्रधानमन्त्री ओलीले व्यवस्था परिवर्तनपछि पूर्वाधारका क्षेत्रमा विकास भएको भन्दै नसक्ने र गरिब जनताका लागि वर्तमान सरकार अभिभावक बनेर प्रस्तुत हुने बताए ।

व्यवस्था बदलियो, अवस्था बदलिएन भन्ने भ्रम फैलाइएका प्रति सचेत हुन उनले आग्रह गरे । मुलुकका व्यवस्था परिवर्तनपछि पूर्वाधार विकास र रोजगारीवृद्धिका साथै थुप्रै ठुला उद्योगहरु सञ्चालनमा आएको उनको भनाई छ ।

प्रधानमन्त्री ओलीले मानिसका छोराछोरीलाई सडकमा अलपत्र पार्न नदिने र विसं. २०८२ भित्र सडक मानवमुक्त नेपाल बनाउन काम भइरहेको जानकरी दिए ।