ओम बृद्धाश्रमलाई ३५ हजार सहयोग प्राप्त
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर २ स्थित ओम बृद्धाश्रमलाई ३५ हजार रुपैयाँ सहयोग प्राप्त भएको छ । आश्रमलाई मंगलबार प्रजातान्त्रि विचार समाज मकवानपुरले ४२ औं वीपी स्मृति दिवसको अवसरमा उक्त रकम सहयोग गरेको हो ।
नेपाली कांग्रेसका केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिना, विचार समाजका अध्यक्ष डा.देवचन्द्र मानन्धर लगायतले आश्रमका अध्यक्ष सिद्धिलाल श्रेष्ठलाई नगद हस्तान्तरण गरेका हुन् ।
समाजको तर्फबाट २५ हजार र सहमहामन्त्री उपाध्यायको तर्फबाट १० हजार गरी ३५ हजार रुपैयाँ सहयोग गरिएको हो । वीपी स्मृति दिवसमा सामाजिक कार्य गर्ने उद्देश्यका साथ आश्रमलाई नगद सहयोग गरिएको समाजका अध्यक्ष मानन्धरले बताए ।
कार्यक्रमका प्रमुख अतिथि उपाध्यायले वीपीलाई सम्झिने क्रममा बृद्धाश्रममा सहयोग गर्नु सराहनीय कार्य भएको बताइन् । उनले बृद्धाश्रमलाई थप व्यवस्थित गर्न अनुरोध गर्दै आगामी दिनमा पनि सहयोग जारी राख्ने प्रतिबद्धता जनाइन् । उनले बृद्धाश्रमलाई बुवाआमाको आश्रम भन्नु राम्रो हुने सुझाव समेत दिइन् ।
बागमती प्रदेशसभा सदस्य लक्ष्मी श्रेष्ठले बृद्धाश्रमसम्म व्यवस्थित बनाउने दायित्व राज्यको भएको धारणा राखिन् ।
ओम बृद्धाश्रमका अध्यक्ष सिद्धिलाल श्रेष्ठका अनुसार हाल आश्रममा २५ जना आश्रित रहेका छन् ।
सहयोग हस्तान्तरण कार्यक्रममा कांग्रेस बागमती प्रदेश संसदीय दलका उपनेता रामकृष्ण चित्राकार, प्रमुख सचेतक गोविन्द लम्साल, प्रदेशसभा सदस्यहरु रामकुमार पहाडी, क्षेत्रबहादुर बम्जन, कोशीका प्रदेशसभा सदस्य ममता तामाङ मगर, कांग्रेस मकवानपुरका पूर्व सभापति रघुरमण न्यौपाने, नेता आनन्दराम पराजुली लगायतको आतिथ्यता रहेको थियो ।
