विपद्को घटनामा परेर १३३ जनाको मृत्यु

तु खबर संवाददाता
२०८१ श्रावण ९, बुधबार १८:०९
सांकेतिक तस्वीर

काठमाडौं । गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्को घटनामामा परी बुधबार दिउँसोसम्म १ सय ३३ जनाको मृत्यु भएको छ ।

बाढी, पहिरो लगायतका विपद्को घटनामा परी कोशी प्रदेशमा २२ जना, मधेश प्रदेशमा ६ जना, बागमती प्रदेशमा २७ जना, गण्डकी प्रदेशमा ३८ जना, लुम्बिनी प्रदेशमा २३ जना, कर्णाली प्रदेशमा ७ जना र सुदूरपश्चिम प्रदेशमा १० जना गरी जम्मा १ सय ३३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै, कोशी प्रदेशमा ३४ जना, मधेश प्रदेशमा ९ जना, बागमती प्रदेशमा १८ जना, गण्डकी प्रदेशमा २९ जना, लुम्बिनी प्रदेशमा ९ जना, कर्णाली प्रदेशमा ३४ जना र सुदूरपश्चिम प्रदेशमा १४ जना गरी जम्मा १ सय ४७ जना घाइते भएका छन् । घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ ।

यसैगरी, कोशी प्रदेशमा ४९ जना, बागमती प्रदेशमा १ जना, गण्डकी प्रदेशमा १२ जना र सुदूरपश्चिम प्रदेशमा ५ जना गरी जम्मा ६७ जनाको उद्दार गरिएको छ भने देशभर बाढी पहिरोमा परी ७ जना बेपत्ता भएका छन् । बेपत्ताको खोजी कार्य जारी रहेको जनाइएको छ ।

बाढी, पहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने काम समेत विभिन्न निकाय र स्थानीयबासीको समन्वय र सहयोगमा गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध हटाउने कार्य समेत प्रहरीले गरिरहेको जनाएको छ ।