स्ववियु निर्वाचन : ४४ आङ्गिक क्याम्पसको मतपरिणाम सार्वजनिक
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तरगत यही चैत्र ५ गते भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा ४४ आङ्गिक क्याम्पसको मत परिणाम सार्वजनिक भइसकेको छ ।
देशभर ६२ आङ्गिक क्याम्पसमध्ये ४४ वटाको नतिजा सार्वजनिक भएको हो । अझै १३ आङ्गिक क्याम्पसमा निर्वाचन हुन बाँकी रहेको छ ।
त्रिविबाट प्राप्त विवरण अनुसार, अनेरास्ववियु १९, नेपाल विद्यार्थी संघ (नेविसंघ) १८, अखिल (क्रान्तिकारी) ४, समाजवादी विद्यार्थी युनियन २ र विद्यार्थी जनमत संघले एक क्याम्पसमा जित हाँसिल गरेको छ । अन्य क्याम्पसको विवरण प्राप्त भइरहेको त्रिविले जनाएको छ ।
त्रिविले पुनः निर्वाचन गर्न निर्देशन दिएपछि केही क्याम्पसमा चुनावी प्रक्रिया सुरु भएको छ । चैत्र १२ गते पोखरा वन क्याम्पस, चैत्र १७ गते आयुर्वेद क्याम्पसका र कृषि क्याम्पस चितवन र चैत्र १८ गते धवलागिरि बहुमुखी क्याम्पस बागलुङले निर्वाचन गर्ने गरी निर्वाचन प्रक्रिया सुरु गरेका हुन् ।