स्ववियु निर्वाचन : पाटनको सभापतिमा नेविसंघका बागी उम्मेदवार निर्वाचित

काठमाडौं । ललितपुरको पाटन क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका बागी उम्मेदवार सुशील विष्ट निर्वाचित भएका छन् ।
नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले युवराज लामा (थिङ) लाई स्ववियु सभापतिको टिकट दिएपछि विष्टले स्वतन्त्र उम्मेदवारी दिएका थिए ।
स्ववियु निर्वाचनमा भोटिङ मेसिन प्रयोग गरिएको थियो । जम्मा २ हजार ६७९ मत खसेको थियो । खसेको मतमध्ये विष्टले ८४१ मतसहित सभापति पदमा निर्वाचित भए ।
यस्तै, उनका निकटतम प्रतिस्पर्धी अनेरास्ववियुका सुरेश जीसीले ६७२ मत प्राप्त गरे । यसैगरी, अखिल क्रान्तिकारीका वीरेन्द्र मगर (मदन)ले ६३७ मत, नेविसंघका आधिकारिक उम्मेदवार युवराज लामा (थिङ) ले ३४६ मत प्राप्त गरे ।
सभापति पदमा ६ जना प्रतिस्पर्धामा थिए । सभापतिका अन्य उम्मेदवार सन्तोष महर्जनले ८६ र अनिष महर्जनले ३३ मत प्राप्त गरे ।