त्रिविले बैशाख १० गतेको परीक्षा सार्यो
काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले यही बैशाख १० गते निर्धारित स्नातक तह प्रथम वर्षका वार्षिक परीक्षाहरु एक साता पछि सारेको छ ।
बैशाख १० गते उप–निर्वाचन हुन लागेको भन्दै त्रिविले सो दिनका परीक्षा एक सातापछि बैशाख १६ गतेका लागि सारेको हो ।
बैशाख १० गते तनहुँ–१, चितवन–२ र बारा–२ निर्वाचन क्षेत्रमा उप–निर्वाचन हुँदैछ । यही दिन बिहान ७ बजे व्यवस्थापन संकायको फाइनान्स र दिउँसो १२ बजे मानविकी संकायको अंग्रेजी, नेपाली, हिन्दी, नेपाल भाषा, मैथिली र संस्कृतको परीक्षा त्रिविले तोकेको थियो ।
अब यी परीक्षाहरु बैशाख १० गते संचालन नगरी बैशाख १६ गते संचालन हुने परीक्षा नियन्त्रण कार्यालय बल्खुले जारी गरेको सूचनामा उल्लेख छ । सारिएका परीक्षाहरु यसअघि तोकिएकै समय र सेन्टरमा संचालन हुने सूचनामा उल्लेख छ ।