रोकिएका क्याम्पसमा स्ववियु निर्वाचन प्रक्रिया सुरु

तु खबर संवाददाता
२०७९ चैत्र ९,बिहीबार ०८:२५
file-photo

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तरगतका केही क्याम्पसमा रोकिएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन सुरु भएको छ । त्रिविले तत्काल निर्वाचनको प्रक्रिया अगाडि बढाउन निर्देशन दिएपछि निर्वाचन प्रक्रिया क्याम्पसले सुरु गरेका छन् ।

स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्य सचिव पशुपति अधिकारीले स्ववियु निर्वाचन नभएका क्याम्पसलाई निर्देशन दिएपछि प्रक्रिया सुरु गरेको जानकारी दिए ।

उनका अनुसार यही चैत्र १२ गते पोखरा वन क्याम्पस, चैत्र १७ गते आयुर्वेद क्याम्पस र कृषि क्याम्पस चितवन, चैत्र १८ गते धवलागिरि बहुमुखी क्याम्पस बागलुङले गर्ने गरी निर्वाचन प्रक्रिया सुरु गरेका हुन् ।

यस्तै, आज महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्ज, महेन्द्र बहुमुखी क्याम्पस दाङ, पक्लिहवा कृषि क्याम्पस भैरहवा र भैरहवा बहुमखी क्याम्पसमा स्ववियु निर्वाचन भएको छ ।

त्रिविले केही दिनअघि मात्र निर्वाचन प्रक्रिया शुरु नभएका १७ क्याम्पसका क्याम्पस प्रमुखलाई पत्र लेख्दै यथाशीघ्र स्ववियु निर्वाचनको प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको थियो ।