परमादेशको नजिर गलत सावित गर्न एमालेको सरकार आवश्यकः एकनाथ ढकाल

तु खबर संवाददाता
२०७९ कार्तिक २६,शनिबार १८:४५

काठमाडौँ । नेपाल परिवार दलका अध्यक्ष एवम् पूर्वमन्त्री एकनाथ ढकालले सर्वोच्च अदालतले जनताले दिएको स्पष्ट जनादेश हुँदाहुँदै देशीविदेशी चलखेलको प्रभावमा परमादेश जारी गरेको भन्दै त्यो गलत नजिरलाई सावित गर्नको लागि अब नेकपा एमालेको सरकार बन्नुपर्ने बताएका छन् ।
शनिबार चुनावी सभालाई सम्बोधन गर्दै उनले अदालतले परमादेश जारी गरेर अन्याय गरेको भन्दै त्यसविरुद्ध यो निर्वाचनमा एमालेलाई जनताले बहुमत दिनुपर्ने बताए ।

अहिलेको ५ दलीय गठबन्धनसँग श्रमिक र मजदुरहरूको पक्षमा कुनैपनि एजेण्डा नभएको बरु, पूँजीपतिहरुको पालनपोषण गर्ने रणनीतिलाई निरन्तरता दिएको भन्दै अब श्रमजीवि, मजदुरलगायतको हितमा रहेको एमालेको सूर्य चिन्हमा मतदान गर्नुपर्ने उनले बताए । अध्यक्ष ढकालले ‘नेपाल परिवार दलको आह्वान सूर्य चिन्हमा मतदान’ भन्ने मुल नाराका साथ देशव्यापी रुपमा केपी ओलीको नेतृत्वमा राष्ट्रिय शक्ति निर्माण गरिने बताए ।

ओली नेतृत्वको सरकारले चुच्चे नक्सा जारी गरेकोले अबको सरकारको नेतृत्व गर्दा गुमेको भूभाग कालापानी र लिम्पियाधुरामा राष्ट्रिय झण्डा फहराउने उनले बताए ।
कार्यक्रममा दलका महामन्त्री एवम् गण्डकी प्रदेश संयोजक प्रकाशबावु थापा, केन्द्रीय सदस्य तथा पिस फोर्स नेपालका अध्यक्ष रविन्द्र चौलागाईं, कास्की क्षेत्र नम्वर २ का प्रतिनीधि सभाका उम्मेदवार विद्या भट्टराई, प्रदेश सभा–२ (क) को उम्मेदवार मिनाकुमारी गुरुङ, नेकपा ऐमाले कास्की जिल्ला उपाध्यक्ष एवम् चुनावी कमाण्डर तेजनारायण अधिकारी, जिफन्ट र क्युपेक कास्कीका अध्यक्षलगायतले भेलालाई सम्बोधन गरेका थिए ।