गठबन्धनको सरकार बनेपछि हाँडीखोलाको मुहार फेरिन्छ: बानियाँ

तु खबर संवाददाता
२०७९ कार्तिक २७,आईतवार १६:३६

हेटौंडा । मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्बर–२ प्रदेशसभा ९ख० मा लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार ईन्द्रबहादुर बानियाँले गठबन्धनको सरकार बनेपछि मनहरी गाउँपालिकाको हाँडीखोला क्षेत्रको विकासले तीव्रता दिइने विश्वास दिलाएका छन् । मनहरी–५ बसन्तपुरमा आइतबार गठबन्धनले आयोजना गरेको चुनावी कोणसभा तथा घरदैलो कार्यक्रममा सम्बोधन गर्दै बानियाँले पूर्व पश्चिम राजमार्गसँग हाँडीखोलालाई जोड्न राप्तीखोलामा पक्की तथा झोलुङ्गे पुल निर्माणलाई निरन्तरता दिइने बताएका हुन् ।

बागमती प्रदेशमा गठबन्धनको सरकार बनेसँगै राप्तीखोलामा पक्की पुल निर्माणको लागि बजेट विनियोजन भइसकेको भन्दै अबको केही समयमा ठेक्का आह्वान गरी काम सुरु हुने बानियाँले बताए । ‘नेकपा एमालेले साढे ३ वर्ष प्रदेश सरकारको नेतृत्व गरिरहँदा हाँडीखोलालाई उपेक्षा गरेको थियो । गठबन्धनको सरकार बनेपछि हामीले रजैया दरदरा जोड्ने पक्की पुल र बस्तीपुर– मनहरी ३ जोड्ने पक्की पुलमा बजेट विनियोजन गरेका छौं । यसले हाँडीखोलाबासीलाई धेरै राहत हुनेछ ।’ बानियाँले भने ।

हाँडीखोलामा कृषि तथा पशुपालनको हब बनाइने उनले बताए । बीउबीजन तथा रसायनिक मल समयमा उपलब्ध गराउने, कृषिउपजको भण्डार र उचित बजार व्यवस्थापन गरिने बानियाँले बताए । बानियाँले नेकपा एमालेले जनतले ल्याएको उपलब्धीलाई मास्न खोज्ने, राजाबादी र देश टुक्र्याउन खोज्नेसँग तालमेल गर्ने जस्ता गतिविधि गरिरहेको भन्दै अब जनताले यो निर्वाचनमा प्रतिगमनकारीहरुलाई परास्त गर्ने बताए ।

उनले प्रदेशका १३ जिल्लामा रहेका विपन्न र निमुखा जनतालाई आवास कार्यक्रम अन्तरगत १० हजार घर निर्माण गरी हस्तान्तरण गरिने बताए । मनहरी ५ का चुनाव प्रचारप्रसार समितिका संयोजक गोविन्दप्रसाद सापकोटाको सभाध्यक्षतामा भएको कार्यक्रममा गठबन्धनका विभिन्न दलका नेताहरु राजाराम स्याङतान, बुद्ध लामा, विष्णुप्रसाद उप्रेती, रामप्रसाद कालाखेती, शुभराज थिङ्गलगायतको उपस्थिति रहेको थियो ।