स्वतन्त्र उम्मेदवार तामाङ भन्छन्: थोरै समयमा जनताको धेरै माया पाएँ

सन्देश थिङ
२०७९ मंसिर १०,शनिबार १७:२१

हेटौंडा । मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्वर–१ मा स्वतन्त्र उम्मेदवारी दिएका आइतराम तामाङले थोरै समयमा धेरै जनताको माया पाएको बताएका छन् ।

५४६ मत पाएका तामाङले आफुलाई थोरै समयमा जनताले धेरै माया गरेको भन्दै प्रतिक्रिया दिएका छन् । निर्वाचनमा विजयी हुन नसकेपनि जनतासँग भेटघाट गर्ने, उनीहरुको गुनासो सुन्ने, गाउँगाउँमा पुगेर त्यहाँको समस्या पहिचान गर्ने अवसर पाएको र गाउँघरमा पुग्दा जनताको अपार माया पाएको तामाङ बताउँछन् ।

पुराना राजनीतिक दलहरुले जनताप्रति इमान्दारिता प्रस्तुत गर्न नसक्दा जनता निराश भइसकेको बताउँदै जनताले विस्तारै परिवर्तन चाहेको बताए ।

वर्षौदेखि राजनिति गरेर बसेकाहरुको तुलनामा छोटो अवधिमा यतिधेरै जनताको माया पाएको भन्दै उनले आगामी दिनमा जनतासंगै रहेर जनताको सुखदुखमा सहभागी हुँदै अगाडि बढ्ने बताए ।

रोजगारीको शिलसिलामा युवाहरु विदेश पलायन हुनुपर्ने बाध्यात्मक परिस्थिति सिर्जना भइरहेको बताउँदै उनले नेपालमै रोजगारीको अवसर सिर्जना गर्न सकिन्छ कि भन्ने उद्देश्यले आफु राजनीतिमा आएको बताए ।

राजनितिलाई सफा बनाउन आफु विदेशमा राम्रो व्यवसाय हुँदाहुँदै पनि नेपाल आएको उनले बताए ।

‘जनतासंग घुलमिल हुन पाइसकेको थिइन् । तरपनि जनताले आफुलाई विश्वास गरेर मतदान गर्नुभयो । अब जनतासँगै हुन्छु, उहाँहरुको सुखदुखमा संगै हुन्छु ।’ उनले भने ।

उनले सो क्षेत्रमा निर्वाचित राप्रपाका दिपकबहादुर सिंहलाई जनताको हित हुनेगरी काम गर्न शुभकामनासमेत दिए ।