हेटौंडामा एमालेका १२ जनाले रोजे एकीकृत समाजवादी

तु खबर संवाददाता
२०७९ कार्तिक २९,मंगलवार १५:०१

मकवानपुर । नेकपा एमालेका नेता डोरमणि पौडेलको वडाका युवाहरु नेकपा एकीकृत समाजवादीमा समाहित भएका छन् । स्थानीय तहको चुनावमा एमालेसँग विद्रोह गरी स्वतन्त्र चुनावी अभियानमा होमिएका हेटौंडा उपमहानगरपालिका वडा नम्वर ११ का युवाहरु आज एकीकृत समाजवादीमा प्रवेश गरेका हुन् ।

एमालेको भातृ संगठन युवा संघको मकवानपुर जिल्ला सदस्य सोविन उप्रेती, सुमन बर्तौला लगायत युवाहरुको टोली नेकपा एकीकृत समाजवादीमा आवद्ध भएका हुन् ।

यस्तै, राजेश बर्तौला, हिमाल बर्तौला, समीर बर्तौला, सुमीत बर्तौला, गणेश पण्डित, निरञ्जन बर्तौला, मनोज गुबाजु, विनेश भण्डारी, विष्णु सञ्जेल, प्रकाश सञ्जेललगायतलाई पार्टीका केन्द्रिय सदस्य एवम् मकवानपुर इन्चार्ज सूर्यचन्द्र न्यौपाने, केन्द्रीय सदस्य एवम् सह इन्चार्ज मुनु सिग्देल लगायतले स्वागत गरेका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य एवम् सहइन्चार्ज न्यौपानेले एमाले अध्यक्ष केपी ओलीको गतिविधी राजाको जस्तो हुन थालेको टिप्पणी गरे । ‘एमालेले कुनै हालतमा जनपक्षीय काम गर्दैन ।’ न्यौपानेले भने, ‘कमल थापालाई सूर्य चिन्ह बिक्री गर्ने ओली राजाजस्तो भूमिकामा छन् ।

उनको व्यवहार कम्युनिष्टसंग मेल खादैन ।’ अब एमालेलाई जिताउन थालियो भने फेरि देशमा दुःख सुरु हुने भएकाले बिर्सिएर पनि एमालेमा मत जान नहुने न्यौपानेको तर्क छ ।

उनले हेटौंडा ११ मा डोरमणि पौडेलको अत्याचारले आजित भएकाहरुको विद्रोहले कम्युनिष्ट आन्दोलन तथा परिर्वतनका लागि सघाउ पुग्ने अपेक्षा पनि व्यक्त गरे ।

यस्तै, पार्टी केन्द्रीय सदस्य एवम् मकवानपुर सह इन्चार्ज सिग्देलले ओलीले पार्टीलाई मुठ्ठीमा लिएर कम्युनिष्ट चरित्र खत्तम गरेकाले त्यस्तो पार्टीबाट आफूहरुले विद्रोह गर्नुपरेको बताइन् । ‘कम्युनिट आन्दोलन बचाउनका लागि आफैंले दुःख गरेर निर्माण गरेको पार्टीबाट विद्रोह गरी नयाँ पार्टी बनाइएको हो ।’ उनले भनिन्,‘ संविधान जोगाउन र प्रतिगमन परास्त गर्नका लागि हामी अहिले गठबन्धनमा छौं ।’ नेतृ सिग्देलले युवाहरुलाई उचित अवसर प्रदान गरिनुपर्ने तर्क गर्दै पार्टीले युवाका योजना बनाई अगाडी बढ्ने बताइन् ।