स्वर्गीय दाहालको १२ दिनको पुण्यतीथिमा श्रदाञ्जलीसभा
मकवानपुर । समाजसेवी स्वर्गीय रामशरण दाहालको १२ औं दिनको पुण्य तीथिमा मकवानपुरगढी गाउँपालिका वडा नम्वर–४ स्थित सहिद रुद्र स्मृति पार्कमा श्रद्धाञ्जलीसभा आयोजना गरिएको छ । सहिद रुद्र स्मृति पार्क, सिर्जनशील समाज बचत तथा ऋण सहकारी संस्था र प्रतिभा युवा क्लवको संयुक्त आयोजनामा मंगलबार श्रद्धाञ्जली सभा आयोजना गरिएको हो ।
सहिद रुद्र स्मृति पार्कको संस्थापक अध्यक्षसमेत रहेका दाहालको गत असोज २२ गते ५३ वर्षको उमेमा निधन भएको थियो । हेटौंडा उपमहानगरपालिका वडा नम्वर – ५ पिप्ले घर भएपनि मकवानपुरगढी गाउँपालिका वडा नं ४ लाई कर्मथलो बनाएका दाहाल समाजसेवा र राजनीतिमा सक्रिय थिए । वि.स २०६३ देखि २०७४ सम्म सहिद रुद्र स्मृति पार्कको संस्थापक अध्यक्षको रुपमा जिम्मेवारी सम्हालेका उनी सिर्जनशील समाज बचत तथा ऋण सहकारी संस्था मकवानपुरगढी–४ को निवर्तमान उपाध्यक्ष र प्रतिभा युबा क्लवको पूर्व सदस्य थिए ।
श्रद्धाञ्जली सभामा नेकपा माओवादी केन्द्र बागमती प्रदेशसभा सदस्य तथा मकवानपुरका संयोजक प्रेमबहादुर पुलामीले स्व.दनहालप्रति श्रद्धाञ्जली अर्पण गर्दै समाजलाई अपुरणीय क्षति भएको भन्दै दुःख व्यक्त गरे । यस्तै, मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष बिदुर हुमागाईले स्व. दाहाल, सादा जिवन उच्च विचारको धनी भएको स्मरण गरे ।
श्रद्धाञ्जली सभामा मकवानपुरगढी ४ नं वडा अध्यक्ष रामप्रसाद तिमल्सिना, कांग्रेस जिल्ला सदस्य अर्जुन दाहाल, सहिद रुद्र स्मृति पार्कको अध्यक्ष मानकुमारी पाख्रिन, सिर्जनशील समाज बचत तथा ऋण सहकारी संस्थाका अक्ष्यक्ष कृष्णबहादुर बिडारी, राप्रपा मकवानपुरगढीका नेता खिलप्रसाद चौँलागाई, प्रतिभा युवा क्लवका अध्यक्ष हेमबहादुर योन्जनलगायत विभिन्न संघ संस्थाका प्रतिनिधि र स्थानीयहरुको उपस्थिति रहेको थियो । स्व. दहालको श्रीमती र २ छोरा छन् ।