शैक्षिक क्षेत्रका समस्या हल गर्न पहल गर्छु : छिन्तु

तु खबर संवाददाता
२०७९ कार्तिक २७,आईतवार ०७:५६

मकवानपुर । मकवानपुर निर्वाचन क्षेत्र नम्वर १ को प्रदेश सभा (क) का उम्मेदवार प्रेमबहादुर पुलामी (छिन्तु) ले मुलुकको समृद्धिका लागि नै गठबन्धन निमार्ण भएकाले यहाँको शैक्षिक क्षेत्रमा देखिएका समस्या हल गर्न पहल गरिने बताएका छन् ।

शनिवार बकैया गाउँपालिकामा आयोजित ‘वर्तमान शैक्षिक समस्या समाधानमा संघ र प्रदेश सरकारको भूमिका विषयक’ अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले आफु बिजयी भए प्रदेश सरकारबाट आवश्यक नीति निमार्ण गरी अस्थायी शिक्षकहरुलाई स्थायी प्रक्रियामा ल्याउने प्रतिबद्धता जनाएका हनु् ।

उनले आफु प्रदेश सभामा रहँदा पनि शैक्षिक क्षेत्रको विकासका लागि सक्दो खटिएको र अब पनि बिजयी भए यहाँहरुले भनेजस्तो निजामती कर्मचारी र शिक्षकबीचको विभेद अन्त्य गरिने दाबी समेत गरे ।

कार्यक्रममा बकैया गाउँपालिकाका गठबन्धनतर्फका शिक्षक संघ संगठनका प्रतिनिधिहरुले निजामती कर्मचारी र शिक्षकबीचको विभेद अन्त्य गरी समान व्यवहार हुनुपर्नेमा जोड दिए । उनीहरुले राहत, अनुदान ,निजी लगायत विभिन्न नाममा विभाजित शिक्षकहरुलाई दरबन्दीमा रुपान्तरण गर्दै आवश्यक प्रक्रिया पु¥याएर स्थायी गरिनुपर्ने पनि बताएका छन् ।

सरकारले संघीय शिक्षा ऐन जारी गरी शिक्षा र शिक्षकको समस्या समाधान गर्न तथा शैक्षिक वर्षको सुरुवातसंगै नयाँपाठ्यपुस्तक प्रयाप्तता हुनेगरी व्यवस्था गर्न पनि माग गरेका थिए ।

एकिकृत अखिल नेपाल शिक्षक संगठन बकैया गाउँ कमिटी अध्यक्ष मदन दाहालको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्दीय सदस्य विजय गौतम, गठबन्धनतर्फका क्षेत्र नम्वर १ प्रचार–प्रसार संयोजक दामोदर खनाल, माओवादी केन्द्रकी समानुपातिक उम्मेदवार लक्ष्मी पाख्रिन लगायतको उपस्थिती रहेको थियो ।