जनपक्षीय बजेट र कार्यक्रम ल्याउँछौँ : मन्त्री मोक्तान

तु खबर संवाददाता
२०७९ बैशाख ६,मंगलवार १७:४५

मकवानपुर । बागमती प्रदेशको सामाजिक विकासमन्त्री कुमारी मोक्तानले जनताको आवश्यक्ता र माग अनुसारको जनपक्षीय बजेट र कार्यक्रम ल्याउने बताएका छन् । राष्ट्रिय बहिरा महासंघ नेपालद्वारा मंगलबार हेटौंडामा आयोजित बहिरामैत्री सेवा प्रवाहका लागि सरकारी तथा सरोकारवाला निकायसँग अन्तरक्रियात्मक कार्यक्रमको उद्घाटन गर्दै उनले सामाजिक विकास मन्त्रालय सबै बर्ग र क्षेत्रको समस्या समाधान गर्न गम्भीर रहेको बताइन् ।

चालु आर्थिक वर्षको बजेट तथा कार्यक्रमहरु छिटो र प्रभावकारी रुपमा कार्यान्वयन गर्न आग्रह गर्दै मन्त्री मोक्तानले विगतका प्रभावकारी कार्यक्रम र नयाँ बजेटका लागि सुझाव पनि माग गरिन् । अपाङ्गता भएकाहरुको क्षमता अभिबृद्धिमूलक कार्यक्रम मात्र नभई दक्ष जनशक्ति उत्पादनमुलक कार्यक्रमहरु संचालन गर्नुपर्नेमा जोड दिँदै मन्त्री मोक्तानले अपाङ्गता भएकाहरुले छिटो र सहज रुपमा सूचना लिन पाउने व्यवस्था गर्न आफुले पहल गर्ने प्रतिवद्धता जनाइन् । पछाडी पारिएका समुदायको हकअधिकार बृद्धि गर्न ऐन, कानून बनाउँदा सम्बन्धित सरोकारवालाको सहभागिता र सुझावलाई उच्च प्राथमिकता दिएको उनले जिकिर गरिन् ।

राष्ट्रिय बहिरा महासंघ बागमती प्रदेशका अध्यक्ष विष्णु पौडेलको अध्यक्षतामा भएका कार्यक्रममा नेकपा माओवादी केन्द्र बागमतीका उपाध्यक्ष तथा बागमती प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामी, नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय सदस्य एवम् बागमती प्रदेशसभा सदस्य मुनु सिग्देल, सामाजिक विकास मन्त्रालयका सचिव श्रीकृष्ण नेपाल, आन्तरिक मामिला तथा कानून मन्त्रालयकी कानून अधिकृत उषा गौतम, हेटौंडा उपमहानगरपालिकाका महिला तथा बालबालिका महाशाखा प्रमुख जगन्नाथ सापकोटा लगायतले मन्तव्य व्यक्त गरेका थिए ।